हिजोसम्म प्यासन थियो‚ अब करियर शुरु भयो : पारस (भिडिओ)

‘राजनीतिमा पनि आउन नसकिने होइन’

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका नेपाली क्रिकेट टीमका पूर्वकप्तान तथा खेलाडी पारस खड्काले नयाँ दिनका लागि उत्साही भएको बताएका छन् । सन्न्यास घोषणा गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले खेलाडीको रुपमा नेपाली क्रिकेटमा गर्न सक्ने योगदान गरेको र अब व्यवस्थापनको क्षेत्रमा आएर यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचेर सन्न्यास घोषणा गरेको बताए ।

उनले खेलाडीका रुपमा हिजोसम्म प्यासनका लागि खेलेको र अब नेपाली क्रिकेटको व्यवस्थापनका पक्षमा केही गर्छु भन्ने लागेरै सोचविचारका साथ यो निर्णय लिएको र योचाहिँ आफ्नो असली करियर भएको बताए । ‘हिजोसम्म प्यासन थियो‚ अब करियर स्टार्ट हुन्छ‚’ पारसले भने ।

३३ वर्षमै सन्न्यास लिनु अलि चाँडो भएन र भन्ने प्रश्नमा पारसले, उमेरले ३३ वर्षको मात्र भएपनि क्रिकेटमा बिताएको करिब २ दशकको समयमा गरेको मेहनत र संघर्षका कारण मानसिक रुपमा आफू ५० वर्षभन्दा माथिको जस्तो भइसकेको अनुभव हुने गरेको बताए ।

नेपाली टीममा आफ्नो भूमिका, महत्व, आवश्यकताजस्ता धेरै कुरा सोचविचार गरेर नै सन्न्यास घोषणा गरेको पारसको भनाइ छ । अब क्रिकेटको व्यवस्थापनमा आउनका लागि नै सन्न्यास लिएको भन्दै उनले तर यो योजना सफल बनाउन निकै चुनौतीपूर्ण रहेको बताए ।

आफू आएर मात्र नेपाली क्रिकेटमा केही नयाँ भइहाल्ने भन्ने सहज नभएको तर सबैजना मिलेर अघि बढ्यो भने नेपाली क्रिकेटको विकासमा धेरै काम गर्न सकिने उनले बताए ।

सन्न्यास घोषणा गरेपछि क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले फोन गरेर सन्न्यासबारे पुनर्विचार गर्न आग्रह गरेपनि आफूले धेरै सोचविचार गरेरै सन्न्यास घोषणा गरेकाले पुनर्विचार नगर्ने जवाफ दिएको उनले बताए । ‘क्याप्टेनसिप छोड्दा पनि त्यसमा पुनर्विचार गर्न उहाँले आग्रह गर्नुभएको थियो तर‚ मैले कुनै निर्णय गर्दा धेरै कुरा सोचविचार गरेर मात्र गर्ने गरेको छु भनेँ ।’

यसपटक पनि धेरै सोचेर सन्न्यास घोषणा गरेकाले यसमा पुनर्विचार नगर्ने जवाफ दिएको उनले बताए ।

अब केही महिनामै एउटा क्रिकेट एकेडेमी घोषणा गर्ने योजना बनाएको र केही वर्षमै त्यसलाई देशैभरि पुर्‍याउने योजना पनि बनाएको उनले बताए । पारसले ठाउँठाउँमा गएर क्यानको प्रतिनिधिहरूसँग मिलेर क्रिकेट खेलहरू गर्नेबारे पनि सोचिरहेको बताए । तर तत्काल एकेडेमीलाई जोड दिने पनि उनले जानकारी दिए ।

क्रिकेटको व्यवस्थापनमा आउन किन यति धेरै रहर गर्नुभएको ? भन्ने प्रश्नमा उनले भने ‘२००९ मा क्याप्टेन भएपछि एक डेढ वर्षपछि त्यो पोजिसनबाट के के गर्न सकिन्छ भन्ने आइडिया भयो । क्रिकेट संघको कुनै न कुनै भूमिकामा आउन सके थप योगदान गर्न सकिन्छ होला भनेर रहर गरेको हो । तर‚ आफू भएर मात्र केही भइहाल्ने होइन । सबैजनाले काम गर्नुपर्छ ।’

यो निर्णय गर्न कत्तिको गाह्रो भयो भन्ने प्रश्नमा पारसले भने‚ ‘मेन्टल्ली योभन्दा धेरै गाह्रो त क्रिकेट खेल्दा भएको थियो । नामिबियामासँग खेल्दै गर्दाको क्षण सम्झन्छु म । जतिबेला एकदमै प्रेसर थियो । खेल जितेपछि म मैदानमा पहिलोपटक दौडेको थिएँ । त्यसअघि किनभने धेरै प्रेसर थियो । तर अहिले यो निर्णय गर्दा त्यस्तो खास धेरै गाह्रो भएन । मैले जुन सम्मान पाएको छु व्यक्तिगत रुपमा त्यसमा सन्तुष्ट छु ।’

No description available.

नेपाली राष्ट्रिय टिममा नहुँदा आफूले धेरै कुरा सम्झनामा रहने भन्दै पारसले मैदानका क्षणहरूका साथमा अफ द फिल्डका कुराहरू पनि ‘मिस’ हुने बताए । देशका विभिन्न ठाउँ र परिवेशबाट आएका र सबैजना देशलाई जिताउँ भन्ने भावका साथ रहने साथीहरू र उनीहरूसँगका सम्झनाहरू धेरै नै सम्झनामा रहने पारसले बताए ।

‘नेपालको क्रिकेट करियरमा फिल्डमा र अफ दी फिल्ड पनि धेरै सम्झनाहरू संगालेको छु । ती सबै सम्झनाहरू मिस हुनेछ ।’

आफ्नो अनुपस्थितिमा पनि नेपाली टिमले धेरै राम्रो प्रदर्शन गर्न सक्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । यसअघि त्रिकोणात्मक सिरिजमा आफू घाइते भएर खेल्न नसक्दा पनि नेपाली टीमले राम्रो प्रदर्शन गरेको र अब पनि राम्रो गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

नेपालले एक दिवसीय मान्यता पाएर पहिलो जित हात पारेकै दिन यो घोषणा गर्नु ठीक होला भन्ने लागेर नै अगस्ट ३ को दिन रोजेको उनले बताए ।

No description available.

क्यानमा आउन सहज छैन । धेरै ठाउँमा चुनाव जितेर आउनुपर्छ । फेरि म एक्लै आएर मात्र पनि हुँदैन । फेरि क्यानमै मात्र आउनुपर्छ भन्ने पनि होइन । अरु भूमिकाहरू पनि हुन सक्छन् । म नेपाली क्रिकेटको विकासको हितमा नै संलग्न हुनेछु ,
क्रिकेट व्यवस्थापनमा राम्रो गर्न सकेँ भने र त्यसपछि कुनै अवसर आयो भने राजनीतिमा पनि नजाने भन्ने हुँदैन । क्रिकेटबाहेकको राजनीतिक लाइनमा पनि राम्रो अवसर आयो भने सोच्न सकिन्छ । तर मैले त्यहाँ गएर के कति काम गर्न सक्छु भन्ने भयो भने मात्र त्यसलाई स्वीकार्ने पारसले बताए ।

नेपालले जितेका सबै खेल खुसीको क्षण हुने भन्दै पारसले वर्ल्डकपमा छनौट हुँदा र एकदिवसीय क्रिकेटको स्टाटस पाउँदा आफू सर्वाधिक खुसी भएको उनले बताए ।

पारसले अब बास्केटबल फुटसललगायत खेल खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *