पारसको सन्न्यास

‘अलि छिटो भयो कि !’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रकेट टीमका पूर्वकप्तान पारस खड्काले मंगलबार बिहान अप्रत्याशित रुपमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि दिनभरी नै सामाजिक सञ्जालमा उनको चर्चा रह्यो । धेरैले उनको सन्न्यास अप्रत्याशित र आश्चर्यजनक मानेका छन् र आगामी यात्राको शुभकामना दिएका छन् । योबीचमा नेपाली क्रिकेटसँग जोडिएका व्यक्तिहरूसँग मकालु खबरले पारसको सन्न्यास र यसले नेपालको क्रिकेटमा पार्ने प्रभावबारे कुराकानी गरेको छ ।

तत्काल यो निर्णय नलिनुभएको भए हुन्थ्यो : अशोकनाथ प्याकुरेल (महासचिव, क्यान)
उहाँले नेपाल क्रिकेट संघ (क्यान) सँग छलफल गरेर भन्दा पनि व्यक्तिगत रुपमा यो निर्णय लिनुभएको हो । उहाँले आज बिहान एउटा मेल पठाउनुभएको रहेछ । मैले उहाँलाई यो निर्णय तत्काल नलिनुभएको भए हुन्थ्यो भनेर जवाफ पनि दिएँ । यद्यपि उहाँको व्यक्तिगत निर्णयलाई सम्मान गर्नुपर्छ । तर मेरो विचारमा उहाँको सन्न्यासको सहि समय यो होइन । अझै केही वर्ष टीममा उहाँको आवश्यकता थियो । फेरि एक महिनापछि ओडीआई साइकलका खेलहरू हुँदै थिए । हामी अब एक महिनामा ओमानमा खेल्न जाने भन्दै थियौँ । त्यसको तयारीमा पनि छौँ ।

हिजोमात्र भिजाको प्रोसेस अघि बढाएका छौँ । त्यसमा उहाँको नामसमेत संलग्न गरेका छौँ । त्यसैले यो हाम्रा लागि अप्रत्यासित छ । उहाँले केही समय नेपाली टीमलाई कन्ट्रीब्यूट गर्न सक्नुहुन्थ्यो भन्ने लाग्छ । उहाँको अनुभव नेपाली टीमलाई थप माथि लैजानका लागि आवश्यक थियो । उहाँको अनुभव र क्षमताको अभाव मैदानमा तत्काल पूरा हुन मुस्किल छ । यद्यपि उहाँले गरेको निर्णलाई रेस्पेक्ट गर्छौँ ।

पारसले अझै २ वर्ष खेल्नुपर्थ्यो : बिनोद दास(पूर्वकप्तान)

१९-२० वर्षदेखि राष्ट्रिय टीमको महत्वपूर्ण सदस्यका रुपमा रहेको खेलाडीले सन्न्यास लिनु खुसीको कुरा होइन । मेरो व्यक्तिगत विचारमा उनले अझै २ वर्ष राष्ट्रिय टीमबाट खेल्न सक्ने अवस्था थियो । र खेल्नुपर्थ्यो भन्ने लाग्छ । त्यसले नेपाली क्रिकेट थप उचाइमा लैजान सघाउँथ्यो । त्यसैले मलाई पारसको यो निर्णय केहि छिटो भयो कि जस्तो लाग्छ ।

पारसको रोल नेपाली टिमलाई अझै पनि उत्तिकै आवश्यक छ । व्यक्तिगत रुपमा म पनि पारसको फ्यान हो । म उनको व्यक्तिगत निर्णयलाई सम्मान गर्छु । तर पारस बन्न लामो समय लागेको थियो । उनी १८-१९ वर्षको अनुभवले पारस बनेका हुन् । उनको अनुभव अझै नेपाली टीमका लागि आवश्यक थियो । तत्काल उनको अभाव पूर्ति गर्न मुस्किल छ तर पनि उनले गरेको निर्णयलाई सम्मान भने गर्नुपर्छ ।

निर्णय अलि छिटो भयो : रमन सिवाकोटी (टेक्निकल एनालिस्ट, राष्ट्रिय क्रिकेट टीम)
मलाई पारसको निर्णय अलि छिटो भयो कि जस्तो लाग्यो । मैदानमा उहाँको आवश्यकता अझै थियो । विश्वकप क्वालिफायरसम्म उहाँले जुनियर खेलाडीलाई मोटिभेट र लिड गर्न आवश्यक थियो र टीमलाई उहाँको आवश्यकता थियो भन्ने लाग्छ । त्यसो त उहाँले कप्तानको पद छाड्दा पनि अप्रत्याशित नै लागेको हो सबै जनालाई । अहिले पनि अप्रत्याशित नै निर्णय लिएको जस्तो लाग्छ । मैदानमा उहाँको लीडरसीप मिस हुने पक्का छ । खेलाडीहरूलाई उहाँको उपस्थितिले नै फरक पार्थ्यो । उहाँले केही सोचेर नै निर्णय लिनुभएको होला‚ आगामी दिन थप राम्रो होस् भनेर कामना गरौँ ।

पारसको योगदान अतुलनीय : ज्ञानेन्द्र मल्ल कप्तान राष्ट्रिय टिम
नेपाली क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले पूर्वकप्तान तथा अहिले टिमका महत्वपूर्ण सदस्य पारसले नेपाली क्रिकेटमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् । पारसको सन्न्यास घोषणापछि कप्तान मल्लले सामाजिक संजालबाट क्रिकेटमा पारसको योगदान अतुलनीय रहेको भन्दै लेखेका छन्‚ ‘तपाईँ सच्चा लेजेन्ड हो ।

एक महान लिडर र च्याम्पियन खेलाडीका रुपमा रहनुहुन्छ । क्रिकेटमा तपाईंको योगदान अतुलनीय छ‚’ उनले अगाडि लेखेका छन्‚ ‘तपाईँसँग क्रिकेट टीममात्र प्रेरित छैन । तपाईंले हाम्रो देशको लाखौंको प्रेरणाको स्रोत हुनुहुन्छ । तपाईंबिना क्रिकेट मैदानमा कदम चाल्नु कठिन काम हुनेछ । सबै कुराका लागि हामी पक्कै तपाईलाई सम्झिनेछौँ । धन्यवाद पारस ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *