पारसको सन्न्यासपछिको सामाजिक सञ्जाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य तथा पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धेरैलाई ‘सरप्राइज’ लागेको उनको यस्तो घोषणासँगै यो विषय सामाजिक सञ्जालमा ट्रेन्डिङमा परेको छ ।

सन्न्यासको घोषणा गरेको पारसको ट्वीट सात घण्टामा १८ सय पटक रिट्वीट भएको छ भने सयौँले उनलाई मेन्सन गरेर यसबारे आफ्ना धारणा राखेका छन् । धेरैजसोले उनले यो घोषणा केही छिटो गरेको टिप्पणी गरेका छन् भने कतिपयले घोषणा फिर्ता लिन अनुरोध पनि गरेका छन् ।

केहीले उनका प्रदर्शनका भिडि‌ओ र फोटो राखेर उनको योगदानलाई सम्झिएका छन् । कतिपयले उनी नेपाली टीमको ‘खम्बा’ रहेको भन्दै उनीबिना नेपाली टिम कमजोर पो बन्ने हो कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन् ।

त्यस्तै आईसीसीले पनि उनको तस्बिर राख्दै सन् २०१८ मा आजकै दिन बोल्ड गरेर प्रथमपटक उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको जित सुनिश्चित गराएको भन्दै सन्न्यासपछिको जीवन सुखमय बितोस् भन्ने कामना गरेको छ ।

त्यस्तै क्यानले पनि नेपाल र नेपाली टीमका लागि अविस्मरणीय योगदान दिएकोमा आभार प्रकट गरेको छ । यसैगरी नेपाली क्रिकेट टिमका वर्तमान क्याप्टेन ज्ञानेन्द्र मल्लले पनि खड्काले नेपाली क्रिकेटलाई मात्र नभएर करोडौं मानिसको प्रेरणाको स्रोत भएको बताएका छन् । ‘तपाईं नेपाली क्रिकेट टीमका लागि मात्रै होइन‚ करोडौं मानिसलाई प्रेरणाको स्रोत हो‚’ उनले लेखेका छन् । कप्तान शाहले खड्कालाई लिजेन्ड‚ कुशल लिडर र च्याम्पियन प्लेयरको संज्ञा दिएका छन् ।

उनको नेपाली क्रिकेटलाई उनले गरेको योगदान अतुलनीय रहेको भन्दै पारसबिना क्रिकेट मैदानमा प्रवेश गर्नु आफ्ना लागि कठिन क्षण हुनेसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *