काठमाडौँ किंग्सका कप्तान बने सन्दीप

काठमाडौँ । आगामी असोज दोस्रो साताबाट त्रिवि मैदान कीर्तिपुरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौँ किंग्स-११ को कप्तानी गर्ने भएका छन् ।

काठमाडौं किंग्स-११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद आफ्रिदीले खेल्ने घोषणा गरेको छ । काठमाडौंले सोमबार सन्दीपलाई कप्तानका रुपमा रहने जानकारी दियो ।

सोमबार नै सन्दीपको २१ औं जन्मदिनसमेत हो । जसको अवसर पारेर काठमाडौँले उनलाई कप्तानको रुपमा सार्वजानिक गर्‍यो । काठमाडौँको कप्तानको दाबेदारमा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि रहेका थिए । यसअघि कप्तान सोमपाल कामी रहेका थिए । सोमपाल अहिले चितवन टाइगर्समा आवद्ध भएका छन् ।

सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती २ खेल खेलेका थिए । त्यसपछि उनी बिग बास लिगका लागि अस्ट्रेलिया लागेका थिए । त्यसयता सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन् ।

घरेलु प्रतियोगितामा भने काठमाडौँ मेयर कपमा सन्दीपले काठमाडौँ मेयर-११ को कप्तानी गरेका थिए । काठमाडौँले मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन पनि माग गरिसकेको छ । यसअघि २०१८ को संस्करणमा काठमाडौँको मुख्य प्रशिक्षकमा विनोद दास थिए ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका विनोद गत पुसमा नेपाल क्रिकेट संघ (क्यान) को म्यानेजर पदमा नियुक्त भएपछि काठमाडौँ अहिले मुख्य प्रशिक्षकको खोजीमा छ । इपीएल आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि मैदानमा गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *