एन्फा प्रवक्ताबाट राईले दिए राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले एन्फाको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका हुन् ।

उनले वरिष्ठ उपाध्यक्षको रोहवरमा राजीनामा बुझाएको बताएका छन् । आइतबार नै राजीनामा दिने तयारी गरेपनि उनले अन्तिम सयमा आफ्नो राजीनामा घोषणा कार्यक्रम स्थगित गरेका थिए ।

विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउँदै राजीनामाको घोषणा गर्नु र पदाधिकारीमाथि पुष्टि नहुने आरोप लगाउनु आपत्तिजनक भएको भन्दै राई असन्तुष्ट थिए । यद्यपि उनले सार्वजानिक रुपमा संस्थागत धारणा राख्दै आएका छन् ।

शनिबार रातिमात्र उनले फेसबुकमा प्रशिक्षकप्रति संकेत गर्दै ‘म मर्छु होला बरू… तर फुटबल खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तविरुद्ध पाइला चाल्न र नेपाली गरीब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्नेगरी सम्झौता गर्न मिल्ला र ?’ भन्दै स्टाटस लेख्दै पद छाड्ने संकेत गरेका थिए ।

उनले सामाजिक सञ्जालमा आइतबार दिउसो बाँकी कुरा उल्लेख गर्ने बताएका थिए । शनिबार नै उनले आफूनिकट जिल्ला र सहकर्मीसँग प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिने बताएका थिए ।

पछिल्लो समय एन्फाको संस्थापन पक्षसँग असन्तुष्ट हुँदै राजीनामा दिनेको संख्या बढ्दै गएको छ । धेरैले यसलाई नजिकिँदै गरेको एन्फा निर्वाचनको राजनितीका रुपमा बुझेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *