ए डिभिजन लिग : पुरस्कार बढ्यो‚ प्रतियोगिता सर्‍यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलको पुरस्कार रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

साथै साफ च्याम्पियनसीपको कारण देखाउँदै क्लबहरूसँग २ महिना लिग सार्ने सहमतिसमेत गरेको छ । यसअघि ३ असोजबाट ए डिभिजन लिग गर्ने निर्णय भएपनि आइतबार क्लबहरूसँगको छलफलमा २ महिनापछि अर्थात् कात्तिक २९ गतेबाट मात्र लिग गर्ने निर्णय एन्फाले गरेको हो ।

अक्टोबरको पहिलो साता आयोजना हुने साफ च्याम्पियनसीपलाई मध्यनजर गर्दै लिग सारिएको एन्फाले जनाएको छ ।

एन्फा र सहभागी १४ क्लबका प्रतिनिधिबीचको सहमतिअनुसार यसपटक लिग विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । गतवर्ष विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यस्तै दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको छ । सहभागी सबै क्लबले तयारीबापत एन्फाबाट २० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै कोभिडको कारण देखाउँदै लिग एकै चरणमा सम्पन्न गर्ने निर्णयसमेत एन्फाले गरेको छ । लिगको अंक तालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । यसअघि पहिलो चरणका खेलपछि शीर्ष ८ बीच उपाधिका लागि र पुछारका ६ टोलीबीच रेलिगसेनको टुंगो लगाउनका लागि खेल हुने बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *