राजतन्त्र फर्काउने दिवास्वप्न देख्नेहरु कुँडाकर्कट बन्नेछन् : नेपाल (भिडिओसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्त नदेख्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले जनताले फालिसकेको राजतन्त्र ल्याउने सपना कसैले देखे त्यो स्वीकार्य नहुने बताए । राजतन्त्र फेरि फर्केर नआउने  दाबी गर्दै उनले राजतन्त्र फिर्ता ल्याउने कसैले सपना देख्छ भने त्यसलाई इतिहासको कुँडाकर्कटमा फालिने चेतावनी दिए । ‘जनताले राजतन्त्रलाई फालिसकेका छन्’ वरिष्ठ नेता नेपालले भने— ‘राजतन्त्र फेरि फर्केर आउने छैन पनि, ल्याउने कसैले दुस्साहस गर्छ भने इतिहासको कुँडाकर्कटमा फालिनेछ तिनीहरुलाई सधैंसधैंका लागि ।’

जनताको रगत पसिनाद्वारा ल्याइएको संविधानको रक्षा आफूहरुले गर्ने र त्यसविरुद्ध हुने सबैखालका गतिविधिको प्रतिरोध गर्ने नेता नेपालले बताए । सर्वोच्च अदालतले विधिको शासनको पालना गर्दै संविधानको सही व्याख्या गर्दै संविधानको रक्षा गरेको, प्रतिनिधि सभा विघटन हुनबाट बचाएकाले नयाँ सरकार बनेको भन्दै नयाँ सरकारले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले प्रतिनिधि सभा विघटन गर्ने दुस्साहस नगर्न सबैलाई चेतावनी पनि दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *