स्टोक्सले खोजे आराम, क्रिकेटबाट विश्राम

काठमाडौं । इंग्लिस अलराउन्डर बेन स्टोक्सले क्रिकेटका सबैखाले फर्म्याटबाट विश्राम लिने निर्णय गरेका छन् । उनले तत्काल कुनैपनि फर्म्याटको क्रिकेट नखेल्ने निर्णय गरेका हुन् । ३० वर्षीय स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औँलालाई आराम दिन अनिश्चित समयका लागि सबैखाले क्रिकेटबाट बिदा बस्ने निर्णय गरेको जनाएका छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले उनले विश्राम लिने निर्णय गरेको शुक्रबार जनाएको हो । बोर्डले विज्ञप्ति निकालेर स्टोक्सले औँलाको चोटका कारण पनि विश्राम लिएको जनाएको छ ।

भारतसँगको शृंखलामा सामेल थिए
स्टोक्सले भारतसँग घरेलु शृंखला शुरु हुनअगाडि आराम गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्ड र भारतबीच ४ अगस्टबाट टेस्ट सिरिज खेल्दैछन् । उनी भारतसँगको खेलका लागि इंग्लिस टीममा थिए । उनी यसै महिना क्रिकेटमा फर्किएपनि उनको औलाको चोट ठिक भएको थिएन ।
पछिल्लो समय धेरै खेलाडी मानसिक कारण देखाउँदै निरन्तर खेलकुद गतिविधिबाट बाहिर रहन थालेका छन् ।

इंग्ल्यान्डको पुरूष क्रिकेट टिमका प्रबन्ध निर्देशक एस्ले जाइल्सले इसीबीले स्टोक्सको निर्णयको सम्मान गर्ने बताए । इंग्ल्यान्डका पूर्वस्पिनर जाइल्सले आफ्नो भावना र शरीरलाई चाहिएको आरामका विषयमा स्टोक्सले खुलेर कुरा गर्ने साहस गर्नु राम्रो भएको बताए । कोरोना महामारीका कारण लागू गर्नु परेको प्रोटोकलका कारण खेलाडीलाई स्वभाविक दबाब भएको उनको भनाइ छ । उनले १६ महिनादेखि यहि अवस्थाबाट गुज्रिनु परेको भन्दै केही समय खुल्ला आकाशमुनि परिवारसँग निस्फिक्री हिँड्न पाउनु पनि खेलाडीको सपना हुने गरेको बताए ।

चोटका कारण आईपिएलको पहिलो खेलबाटै बाहिर 
आईपीएल २०२१ को सिजनमा राजस्थान रोयल्सबाट खेलेका स्टोक्स १ खेल मात्र खेलेर प्रतियोगिताबाट बाहिरिए । पञ्जावविरुद्धको खेलमा क्रिस गेलको क्याच लिने क्रममा उनको औँलामा चोट लागेको थियो ।

स्टोक्सले २०१९ मा इंग्ल्यान्डलाई एकदिवसीय विश्वकप उपाधि दिलाउँदा निर्णायक भूमिका निर्वाह गरेका थिए । उनी यसै वर्ष विजडन लीडिङ क्रकेटर अफ द इयर ‘वर्षको सर्वश्रेष्ठ क्रिकेटर’ बाट समेत सम्मानित भएका थए ।

जुन १५ वर्षपछि कुनैपनि इंग्लिस क्रिकेटरले पाएको पहिलो सम्मान थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *