विवाद बिच एन्फाको बैठक बस्दै

काठमाडौ‌ँ । पछिल्लो समयको  बढ्दो मतभेदकाबीच अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचित कार्यसमितिको बैठक शुक्रबार बस्दै छ । बैठकमा यो पटक मनोनितबाहेकको बैठक बस्न लागेको हो ।

दिउँदो ४ बजे बस्ने बैठक नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई मुछिएको घटनामा केन्द्रित हुनेछ । नेम्बाङ र प्रशिक्षक दुबैले छानविन गर्न एन्फामा लिखित उजुरी दिएपछि घटना थप पेचिलो बनेको छ ।

सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका अल्मुताइरीले आफ्नो काममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अवरोध पुर्‍याउँदै आएको आरोप लगाउँदै राजिनामा घोषणा गरेका थिए । लगतै नेम्वाङले पनि पूरा घटनाक्रममा निष्पक्ष छानबिन हुनु पर्ने माग गर्दै आएका छन् । एन्फाको निर्वाचन केही महिना मात्र बाँकी रहँदा एन्फा भित्र चरम गुटबन्दी देखिएको छ । नेम्वाङले आफुमाथि षड्यन्त्र भएको आरोप लगाउँदै आएका छन् ।

यद्यपि पदाधिकारीबिच भन्दा पनि अहिले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबिच समझदारीको प्रयास भइरहेको छ । नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीच आपसी सहमति गराउने प्रयास पनि भइरहेको एन्फा स्रोतले बतायो । यद्यपि दुबै कडा रुपमा आएकाले दुइ पक्षबिच छलफल हुने संभावना कमजोर छ । तर दुबैलाई यो घटना लम्बिन्दा असर हुने भएकाले समझदारीको विकल्प दुबैलाई नभएको एन्फा स्रोत बताउँछ ।

बैठकमा १७ निर्वाचित पदाधिकारीसँगै महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रवीन्द्र जोशी सहभागी हुनेछन् । बैठकमा मनोनीत पदाधिकारीलाई नबोलाउने निर्णयको विरोधमा मनोनीत उपाध्यक्ष शिक्षित पराजुलीले अबदेखि कुनै पनि कार्यसमितिको बैठकमा आफू सहभागी नहुने भन्दै लिखित असन्तुष्टि पोखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *