टोक्यो अ‍ोलम्पिक

सरस्वती बाहिरिएसँगै सकियो नेपालको चुनौती

काठमाडौँ । टोक्यो अ‍ोलम्पिक २०२० अन्तर्गत नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् । शुक्रबार बिहान सम्पन्न दौडमा सरस्वतीले १२.९१ सेकेन्डमा आफ्नो दौड पुरा गर्दै आफ्नो हिटमा आठौ स्थानमा रहिन् ।

सय मिटर दौडमा दोस्रो हिटमा रहेकी सरस्वतीले साउदी अरेबियाकी खेलाडीलाई जितेकी छन् ।दोस्रो हिटमा नेपाल र साउदी अरेबियाबाहेक इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी रहेका थिए । यस हिटमा इरानकी फासिही फारजानेहले सय मीटरको दौड ११.७६ सेकेन्डमा पुरा गर्दै पहिलो भएकी छन् ।

ओलम्पिकको महिला सय मिटर दौडमा २७ खेलाडीले भाग लिएका छन् भने आफ्नो हिटमा भएका नौ खेलाडी मध्ये शीर्ष तीनमा पर्ने खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती दोस्रो चरणमा पुग्न असफल भएकी छन् । दोस्रो हिटबाट इरान मलेसिया र कुवेतका खेलाडी दोस्रो चरणमा पुगेका छन् ।

टोकियो ओलम्पिकमा सरस्वतीको प्रदर्शन औसत रहेको छ । उनले यस स्पर्धामा राखेको व्यक्तिगत उत्कृष्ट समय पनि सुधार गर्न सकिनन् । यसअघि २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र त्यसपछि १३ अ‍ौं सागमा उनले १२.५५ सेकेन्डको समय निकालेकी थिइन् ।

सय मिटर दौडमा नेपालको राष्ट्रिय रेकर्ड भने देवीमाया पनेरूको नाममा छ । उनले सन् १९९९ को दक्षिण एशियाली खेलमा १२.१९ मा सय मिटर दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यससँगै नेपालको टोकियो अ‍ोलम्पिकमा चुनौती सकिएको छ ।

नेपालले टोक्यो ओलम्पिकमा ५ खेलाडी सहभागि गराएको थियो । जसमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाएपनि दोस्रो चरण पुग्न असफल रहे । जुडोमा सोनिया भट्टपनि पहिलो चरणमानै सिमित भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *