चार घण्टासम्म कांग्रेस बैठकमा के भयो ? प्रवक्ता शर्मा भन्छन्- भदौ १६ को विकल्पमा छलफल भएको छैन

काठमाडौं । कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भोलि अर्थात् बिहीबार दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ । बुधबार बुढानिलकण्ठस्थित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यताका विषयमा टुंगो लगाउन सकेन ।

बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा समेत सहमति जुटेको छैन । १२ बजेबाट सुरु भएको बैठक चार घण्टासम्म चल्यो । अन्ततः नेताहरुले क्रियाशील सदस्यताको विवाद पुनः केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमै फर्काइदिएका छन् । शीर्ष नेताहरुले विवाद समाधान गरी सर्वसम्मत रुपमा प्रतिवेदन पेश गर्न भन्दै थप २४ घण्टा समय दिएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार बैठकमा क्रियाशील छानविन समितिको प्रतिवेदनमाथि छलफल भयो । ‘हामीले प्रतिवेदन र समितिले बुझाएका बाँकी रहेका विवादित जिल्ला र क्षेत्रका विषयहरुमा विषयगत रुपमा, बुँदागत रुपमा, र देखा परेका चुनौतीहरुको समीक्षा गर्दै छलपल गर्यौँ,’ प्रवक्ता शर्माले भने, ‘अन्ततः पुनः समितिलाई काम गर्न २४ घण्टाको समयावधि दिइएको छ ।’

रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार करिब डेढ महिनासम्म गौशालाको धर्मशालामा बसेर देशभरका आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्यको नामावलीसहित समितिले गरेको कामको प्रगति प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदनमा समितिका सदस्य कल्याणकुमार गुरुङले नोट अफ डिसेण्ट लेखेका थिए ।

शीर्ष नेताहरुले सर्वसम्मत निर्णय गर्नुपर्ने मापदण्डविपरीत प्रतिवेदन आएपछि त्यसलाई समेत मिलाएर ल्याउने गरी प्रतिवेदन पुनः छानविन समितिलाई फिर्ता गरेका हुन् ।

कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकेको छ । तर, त्यसभन्दा अघि गर्नैपर्ने तल्ला तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । अब केन्द्रीय महाधिवेशनको त्यही मितिलाई कायम राखेर तल्ला तहको महाधिवेशनको नयाँ कार्यतालिका बनाउने वा केन्द्रीय महाधिवेशनकै मिति हेरफेर गर्ने भन्ने सम्बन्धमा नेताहरुले फरक–फरक मत जाहेर गरिरहेका छन् ।

भदौमा महाधिवेशन गर्न असम्भव रहेको र त्यसका विकल्पबारेमा कांग्रेसवृत्तमा थरि–थरिका मत जाहेर भइरहेका छन् । एक नेताका अनुसार भदौको पहिलो साताबाट तल्ला तहको अधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जनको प्रस्ताव शीर्ष नेताहरुको बैठकमा भएको छ । तर, त्यसबारे नेताहरुबीच समान धारणा बनेको छैन ।

प्रवक्ता शर्माले महाधिवेशनको कार्यतालिका प्रभावित भएको सम्बन्धमा बोल्दै गर्दा केन्द्रीय महाधिवेशन भदौबाट पछिसम्मै सर्न सक्ने संकेत गरे । तर, अहिल्यै भदौ १६ को विकल्पका बारेमा कुनै छलफल नभएको दाबी गरे । ‘देशव्यापी रुपमा कोरोनाको संक्रमणको बास्तविक ग्राफ के छ ? जिल्लाका साथीहरुको भनाइ के छ ? भन्नेलगायत सबै कुरालाई मध्यनजर गरेर महाधिवेशनका बारेमा टुंगोमा पुग्छौँ,’ प्रवक्ता शर्माले भने, ‘भदौ १६ को विकल्पमा छलफल भएको छैन । त्यो सोच्नु बिल्कुल स्वभाविक हो । तर, अहिले नेताहरुको बीचमा त्यो विषयले प्रवेश पाएको छैन ।’

केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । विज्ञहरुले तेश्रो लहर फैलिन सक्ने चेतावनी दिइसकेको छ । यस्तो बेला महाधिवेशन गर्न नसकिने भन्दै कांग्रेसका विभिन्न जिल्ला सभापतिहरुले धारणा राखिरहेका छन् । प्रवक्ता शर्माले जिल्ला–जिल्लाबाट आएको सुझाव भन्दै त्यस्तै भनाइहरुलाई संकेत गरेका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =