गौरिकाद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार, हीटचरणमा तेस्रो

काठमाडौं । जापानमा जारी टोक्यो ओलम्पिक २०२०मा नेपाली पौडीबाज गौरिका सिंह हिटचरणमा तेस्रो भएकी छन् । १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो स्थानमा रहेकी हुन् ।

तेस्रो स्थानमा रहेपनि लङ् कोर्टमा भने गौरिकाले आफ्नै नाममा रहेको यसअघिको कीर्तिमानमा सुधार गरेकी छन् । उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा  १ मिनेट ०.६२  सेकेन्डमा दूरी पुरा गर्दै  राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

सर्ट कोर्टमा भने गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी छन् ।

गौरिकाले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटी प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् ।

समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *