प्राप्त अधिकारको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू संघर्षको प्रतिफल भएकाले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले आवश्यक पर्दा सकारात्मक र रचनात्मक दबाब सिर्जना गर्नुपर्ने बताए । संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उनले सोहि व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटकसम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणासमेत राखेका थिए ।

संसदलाई प्रभावकारी बनाउन आफूले पहल र प्रयत्न जारी राखेको बताउँदै सभामुख सापकोटाले संसदमा विधेयकहरुलाई अघि बढाउने सन्दर्भमा आफूले प्रधानमन्त्रसँग र आवश्यक परे सर्वदलीय छलफल गर्ने जानकारी दिए । देश र जनताको अधिकतम हितलाई ध्यानमा राखेर निष्ठापूर्वक काम गर्ने बताउँदै उनले सञ्जालको गराएको ध्यानाकर्षणप्रति ऐक्यवद्धता जनाए । सञ्जालले उठाएका विषयलाई निर्णायक ठाउँमा पुर्‍याउने र यसको मर्म बुझाउन प्रयत्न गर्ने सभामुख सापकोटाको भनाइ थियो ।

अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कल्याणी रिजालले सभामुख दह्रोसँग उभिएका कारण प्रतिनिधि सभाको पुनःस्थापना भएको बताउँदै मन्त्रिपरिषद् विस्तार हुँदा कम्तीमा संविधानले व्यवस्था गरेअनुसारको महिला सहभागिताका लागि पहल गरिदिन सभामुख सापकोटालाई आग्रह गरे ।

ज्ञापनपत्रमा संविधान सभाबाट जारी संविधानको प्रस्तावनामा नै लैङ्गिक विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने भन्ने व्यवस्था गरिनुपर्ने लगायतका माग राखिएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *