काठमाडौं महानगरका ६ वटा वडा भवन निर्माण प्रक्रियामा, केहीको शिलान्यास हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिबद्धता व्यक्त गरेको छ । वडा नं. २१ को वडा भवनको सोमबार शिलान्यास गर्ने सिलसिलामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा नं. २१ को वडा भवनको आज शिलान्यास गरेका छौँ । यो हाम्रो घोषणाअनुसारकै कार्य हो ।’

शाक्यले यसअघि वडा नं. ३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भइरहेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकामा फरक-फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सर्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उनले खुसीसमेत व्यक्त गरे ।

‘पूर्वाधार थपिदैँ र जनसंख्या बढ्दै गएपछि पहिला निर्माण भएका वडा भवनबाट सेवा प्रवाह गर्न असजिलो हुने भएकाले हामीले वडा कार्यालय भवन पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘खरिद प्रक्रियामा रहेका काम मात्रै हामीले सम्पन्न गर्ने हो भने पनि यहाँ धेरै काम भएको देखिन्छ ।’

शिलान्यास कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *