ओझेल परेको पाटो : गर्भावस्थामा सक्रिय प्रियङ्का

काठमाडौं । अभिनेत्री प्रियङ्का कार्की गर्भवती छिन् । अप्रिल २ तारिकमा उनी र उनका श्रीमान् आयुष्मान जोशीले ‘अब प्रश्न सोध्न बन्द गर्नुहोस् । हो‚ हामी गर्भवती छौँ ।’ भन्दै आफ्नो गर्भमा सन्तान हुर्किँदै गरेको जानकारी दिएका थिए । प्रियङ्काको नाम आउनासाथ विवादमा तान्नैपर्ने झैँ गरी उनीहरूले साटेको खुसीमा पनि ट्रोल बने, सञ्जाल प्रयोगकर्ता समर्थन र विरोधमा विभाजित भए । तर प्रियङ्का र आयुष्मानलाई त्यसले कति पनि फरक परेन ।

डिसेम्बरमा गर्भवती भएकी प्रियङ्का र आयुष्मान रुस्लान भोड्काको प्रायोजनमा फेब्रुअरीको अन्तमा श्रीलङ्का घुमेर आए । महँगो देखिने उक्त भ्रमणका लागि उनीहरूले केही खर्च गर्नु परेन । क्यामेरामा अब्बल आयुष्मानले तस्बिर खिचे भने सम्पादनमा त प्रियङ्का स्वयम् नै छिन् । सामाजिक सञ्जालमा उनीहरूको तस्बिर देखेर नलोभिने कमै थिए ।

गर्भावस्थाको खबर सार्वजनिक गरेको पन्ध्र दिन आसपास प्रियङ्काले आफ्नो इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरिन् । टूपीएम चाउचाउको विज्ञापन गरिएको तस्बिर सार्वजनिक गर्दै उनले आफ्ना फलोअर्समाझ नयाँ वर्षको शुभकामना व्यक्त गरिन् ।

मे ११ मा पुनः उनले मातातीर्थ औँसीको शुभकामना दिन आफूले पहिलाबाट नै विज्ञापन गरिरहेको प्रडक्ट व्यञ्जनलाई रोजिन् । मीठा शब्दहरू प्रयोग गर्दै उनले आफ्नी आमालाई सम्झिँदै फलोअर्समाझ व्यञ्जनको विज्ञापन गरिन् । ‘लेट्स सेयर एन्ड इट’ भन्दै गरिएको उनको भिडिओको प्रभाव उनका फलोअर्समा परेको छ ।

गर्भावस्थामा मन पर्ने अमिलो पिरो चटपटा स्वादलाई आधार मान्दै उनलाई ‘इमली बम’ क्यान्डी प्रचारका लागि रोजियो । प्रियङ्काले घर बसेरै काम पाइन् भने उक्त प्रडक्टले अन्य धरै ग्राहक । भलै यो क्यान्डी उनले विज्ञापन गरे झैँ स्वास्थ्यवर्द्धक त छैन तर यसको ग्राहक बढाउन प्रियङ्काको इन्स्टाग्राम र अनुहारले काम गर्‍यो ।

एक चलेको अनुहार जसले आफ्नो काम र चर्चा प्रयोग गरेर जीवन जिउँदैछ, आफ्नो जीवनको सुनौलो क्षण महसुस गर्दैछ भने हामी पनि उनीहरूको खुसीको एक हिस्सा बनौँ न । हुन्न र ?

लकडाउनको समय चल्दै थियो, जुन ३ मा प्रियङ्काले फुडगन्जबाट खाना मगाइन् । उनले खानामात्रै मगाइनन्, सामाजिक सञ्जालमार्फत प्रचार पनि गरिन् । त्यस्तै दराजको अफर चलिरहेको समय प्रियङ्का दम्पतीले एक भिडिओ नै बनाएर सेयर गरे । जसको प्रत्यक्ष फाइदा दराज एपलाई भयो ।

यी सबै काम प्रियङ्काले आफ्नो गर्भावस्थामा गरिरहेकी छन् । घरमै बसेर उनले आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन् । यस्ता कामहरूको छायाङ्कन, सम्पादन र कन्सेप्टको काम दुवैजना मिलेर गर्छन् । घरमा नै काम गर्न सहज हुनेगरी सामग्री र स्टुडिओ सेट गरिएको छ ।

लकडाउनको समयमा कला क्षेत्र सुस्ताएको बेला प्रियङ्काले आफ्नै निर्माणमा चलचित्र ‘वसन्त’मा काम गरिन् । त्यो समयमा उनी गर्भावस्थाको पहिलो चरणमा थिइन् । यसका लागि उनको परिवारले उनलाई साथ दिएको थियो । उनलाई श्रीमानको साथ कस्तो छ भनेर त भनिरहन जरुरी छैन । सामाजिक सञ्जाल र अन्तर्वार्तामा प्रियङ्का स्वयंले बोलेकी छन् । उनले अपलोड गर्ने भिडिओमा समेत आयुष्मानको स्नेही व्यवहार अनुभूत गर्न सकिन्छ । अधिकांश महिलाले खोज्ने श्रीमान् पनि यस्तै नै हुन्, केयर‚ लभ र सपोर्टले भरिएका ।

गर्भवती प्रियङ्काले आफ्नो ठूलो पेटसहित ब्रान्ड प्रमोटमात्रै गरेकी छैनन्, आफ्नै कार्यक्रम पनि निरन्तर सञ्चालन गरिरहेकी छन् । उनले यहीबीचमा नीति शाह, पूजा शर्मा, ऋचा शर्मा, समृद्धि राई, पराक्रम राणालगायतलाई अतिथि बनाएर कार्यक्रम ‘चपचप डायरिज’मा उपस्थित गराएकी छन् ।

बिस्तारै उनी भ्लगतर्फ पनि आकर्षित भएकी छन् । उनी आफ्नो बुबाआमाको जन्मदिन, बेबी सावरलगायतका क्षणलाई क्यामेरामा कैद गरेर भ्लग बनाउँदैछिन् । समग्रमा उनी दर्शकसँग निरन्तर सम्पर्कमा छिन् ।

उनलाई पछिल्लो समय सामाजिक सञ्जालमा ‘फैलिएको पेट’ प्रदर्शन गरेको आरोप लगाउनेको सङ्ख्या पनि ठूलै भएको छ । त उनले त्यही फैलिएको पेट लिएर निरन्तर काम गरिरहेकोमा भने आँखा नपुगेको पो हो कि ? उनले पेटमा रहेको बच्चासँगको हरेक क्षणलाई पूर्ण रूपमा जिइरहेकी छन् । र, यसमा उनलाई ब्याचलर्स पार्टी र माल्दिभ्स टूरमा झैँ भिन्न भिन्न कम्पनीले प्रायोजन गरिरहेका छन् । यसरी उनको खुसीमा कुनै कम्पनीले स्पोन्सर गर्नु पछाडिको कारण उनको सामाजिक सञ्जालको सक्रियता पनि हो । यदि उनका पोस्टहरू यति चर्चित हुने थिएनन् भने पक्कै पनि व्यावसायिक कम्पनी प्रियङ्कामाथि लगानी गर्न यति लालायित हुने थिएनन् ।

यसअघि पनि प्रियङ्कालाई दर्शकले गर्मी मौसममा धेरै पटक बिकिनीमा देखेका थिए । मन पनि पराएका हुन् । उनकी सासू रविना देशराजले समेत प्रियङ्कालाई यस्तो पहिरनमा सहज हुने बताएकी छन् । अहिले चर्चा र विरोध भएको जस्तो प्रियङ्काले गर्न नहुने केही नगरेको भनेर उनी स्वयंले एक अन्तर्वार्तामा बताएकी छन् ।

विरोध र समर्थनबीच प्रियङ्काले आफ्नो मातृत्व अनुभव लिइरहेकी छन् । उनलाई सञ्जाल प्रयोगकर्ताका कुनै पनि प्रतिक्रियाले फरक नपर्ने पटक पटक उल्लेख गर्दै आएकी छन् । उनको विरोधमा बनेका ट्रोल र समाचारले पनि उनलाई घाटा भने छैन । चर्चा बढेसँगै उनको युट्यूबमा दर्शकको संख्या बढेको छ । उनीमाथि लगानी गर्ने कम्पनीहरूको सङ्ख्या बढ्दो छ । सन्तान नजन्मिँदै उनलाई उपहार स्वरूप बच्चालाई आवश्यक सामग्री आउन थालेका छन् । उनीहरूको जीवन अझ सहज बन्दै गएको छ ।

त्यसैले उनीहरूको वालमा गएर, तस्बिर तानेर, जोडेर, सम्पादन गरेर ट्रोल बनाउनु र नकारात्मक टिप्पणीले उनीहरूलाई केही पनि फरक पर्दैन । एक चलेको अनुहार जसले आफ्नो काम र चर्चा प्रयोग गरेर जीवन जिउँदैछ, आफ्नो जीवनको सुनौलो क्षण महसुस गर्दैछ भने हामी पनि उनीहरूको खुसीको एक हिस्सा बनौँ न । हुन्न र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *