जसपा विवाद

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यको हस्ताक्षर

काठमाडौं । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा), नेपालले सोमबार (आज) निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । जसमा गत साउन ७ गते निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुको सनाखतबाट विवाद टुङ्ग्याउने निर्णय गरेको थियो ।

जसअनुसार अहिले आयोगमा सदस्यहरुले हस्ताक्षर गरिरहेका छन् । जसमा उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । रेनुकुमारी यादवकाअनुसार यादव पक्षमा ३४ सदस्यहरुले हस्ताक्षर गरेका छन् । ‘हाम्रो पक्षमा ३४ सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्,’ यादवले मकालुखबरसँग भनिन्— ‘अझै बढ्दैछन् । बढाउन सकिन्छ ।’

यस्तै यादवले यसपछि आफूहरुले सजिलै आधिकारिकता पाउने दाबी गरिन् । भनिन्— ‘सनाखतबाट विवाद टुङ्ग्याउने भनेकै बहुमत हेर्ने हो । हाम्रो पक्षमा बहुमत जुरिसकेको छ । यसपछि सिधै हामीले पार्टीको आधिकारिकता पाउँदैछौँ ।’ यादवकाअनुसार मनिष सुमन, राजकिशोर यादवलगायतका सदस्यहरुले पनि उपेन्द्र पक्षमै हस्ताक्षर गरेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा ०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बनेर विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गरेका थिए ।

पछिल्लो समय खासगरी गठबन्धनको सरकार बनेपछि ठाकुर पक्षका कतिपय नेताहरु यादवको कित्तामा उभिएका छन् । सरकारमा जाने पक्का भइसकेको यादवको पक्षमा बढी कार्यकारिणी सदस्यहरु उभिएका छन् ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुर पक्षले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *