संसद्मा एमालेको प्रश्न : यो सरकारले कहिले जनादेश प्राप्त गर्यो ?

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले ‘यो सरकारले कहिले जनादेश प्राप्त गर्यो ?’ भनेर संसद्मा सत्तारुढ गठबन्धनलाई सोधेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेशबाट नभइ सर्वोच्चको परमादेशबाट आएको टिप्पणी गर्दै नेम्वाङ्गले थपे— ‘जनादेश प्राप्त भएको त थाहा छैन । नेपालको सन्दर्भमा सर्वोच्चले सरकार बनाएको पहिलो पटक हो ।’
देउवाले ‘यो पटक हामीलाई जनादेश छैन, सरकारमा गइन्न’ भनेको स्मरण गर्दै नेम्वाङ्गले ताजा जनादेशमा जाने कुरा निरङ्कुश र प्रतिगमन नभएको जिकिर गरे । ‘जनतासँग भेट्ने कुरा, जनतामा जाने कुरा र जनताले आफ्नो नेतृत्व छान्ने कुरालाई प्रतिगमन भन्नुहुँदैन,’ नेम्वाङ्गले भनेका छन् ।
खासगरी ०४८ सालयताको सदनमा विभिन्न खाले घटनाहरु घटेको सम्झिँदै नेम्वाङ्गले अबको सरकारले त्यस्तो घटनालाई प्रश्रय नदिन आग्रहसमेत गरे । नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने कार्यसूचीको छलफलमा भाग लिँदै नेम्वाङ्गले थपेका छन्— ‘शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुुरूप अगाडि जानुपर्दछ ।’








