संस्थापन पक्षसँग नेपालले औंल्याएका यी ३ विषय

काठमाडौं । केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको तिक्तताले पछिल्लो समय एमालेलाई गाँजेको छ । दोस्रो तहका नेताहरुले ओली–नेपाललाई सँगै राखेर प्रष्टसँग भनेका छन्— ‘तपाईंहरु मिल्नुस् । हामी ठिक छौँ ।’ यति हुँदाहुँदै पनि ओली–नेपाल मिल्न सकिरहेका छैनन् । त्यसो त मिलेरै जाने भनेर दर्जनौं पटक ओली–नोपलबीच एक्लाएक्लै भेटवार्ता भयो, तर सहमति भने भेटिएन । यत्तिसम्म कि, नेपालले सदनमा विपक्षी दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने अवस्था बन्यो ।

एमाले मिलाउनैको लागि भन्दै ओली–नेपाल भेटे, कार्यदल बन्यो, कार्यदलमा दिनै संवाद तथा छलफलहरु भए, दोस्रो तहका नेताहरु अनौपचारिक रुपमा पनि दर्जनौं पटक भेटे । तर, त्यहाँ पनि सहमति भेटिएन ।

पार्टीलाई एकलौटी रुपमा चलाएको भन्दै रिसाइरहेको नेपाल पक्ष पुस ७ गतेको संसद् विघटनबाट झनै चिढियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदाताका नै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेका नेपाल फागुन २३ गतेको सर्वोच्चको फैसलापछि पनि आफैं हिँड्ने आँट गरे ।
ओलीले पुनः दोस्रो पटक जेठ ८ गते मध्यराति पुनः संसद् विघटन गरे । यसपछि ५ दलसम्बद्ध गठबन्धन बन्यो । गठबन्धनमा नेपालले सशक्त रुपमा लागे । अन्ततः संसद् पुनःस्थापित भयो । सर्वोच्चकै परमादेशमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेका देउवालाई नेता नेपालले सदनमा विश्वासको मत दिए ।

आइतबार (हिजो) प्रधानमन्त्री देउवाले विश्वासको मत लिने पक्का भएपछि संस्थापन पक्षका नेताहरु नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेका नेताहरुले नेपाललाई भने— ‘पार्टीको निर्देशनअनुरूप अघि बढौँ ।’ त्यसअघि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । तर, नेपालले जवाफमा आफू एक्लै भएपनि अगाडि बढ्ने र संस्थापन पक्षको निर्णयमा नबस्ने बताए । जहाँ नेपालले तीन विशेष विषयबारे कुरा गरेका थिए ।

१, १० बुँदे सहमतिको कतिपय बुँदामा मेरो सहमति छैनः
एमालेमा विवाद बढ्दै गएपछि गत जेठ पहिलो हप्ता १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले विवाद निरूपणका लागि भन्दै सक्दो प्रयास गर्यो । ओली–नेपाल भेट्ने वातावरणसम्म बनाउन सक्यो । तर, समस्याको दीगो समाधान खोज्न सकेन । अन्ततः १० बुँदे सहमति बनायो । उक्त सहमतिबारे नेपालले असहमति जनाएका छन् । उनले भनेका छन्— ‘१० बुँदाको कतिपय बुँदामा म असहमत छु । मलाई आफैं छोड्नुस् ।’

२, देउवालाई विश्वासको मत दिने निर्णयबाट पछाडि हट्दिनँः
कोटेश्वर पुगेका संस्थापन पक्षका नेताहरुसँग नेता नेपालले सिधै म पछाडि हट्दिनँ भनेर भनेका थिए । ‘म पछाडि हट्दिनँ भन्नुभयो,’ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने— ‘एक हिसाबले भन्ने हो भने हामी उहाँलाई फर्काउन असमर्थ रह्यौँ ।’ आफूहरुलाई नेपालले ठाडै भनेको ज्ञवालीको भनाइ छ । भने— ‘उहाँले ठाडै यसो भनिसकेपछि हामी आफूलाई त्यहाँ राखिरहन चाहेनौँ, फर्क्यौँ ।’

३, म अल्पमतमा रहेको कमिटीको निर्णय मान्दिनँः
संस्थापन पक्षका नेताहरुले नेपाललाई ‘पार्टीको निर्देशअनुसार अगाडि बढौँ’ भनि प्रस्ताव गरेका थिए । जवाफमा नेपालले भनेका थिए— ‘जहाँ म अल्पमतमा छु, त्यो कमिटीको निर्णय मैले मान्नुपर्दैन र मैले मान्दिनँ पनि ।’

माधव कमरेडलाई फर्काउन असफल रह्यौँः ज्ञवाली
प्रवक्ता ज्ञवालीले आफूहरु नेपाललाई पार्टीमा फर्काउन असफल भएको स्वीकारे । भने— ‘एक हिसाबले भन्दा हामी कमरेड माधव नेपाललाई फर्काउन असफल रह्यौँ ।’ ज्ञवालीले तर पनि प्रयास गरिनैरहने बताए । ‘यसो भन्दैमा प्रयास नै नगर्ने भन्ने त हुँदैन । प्रयास त जारी नै छ ।’

|एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली। तस्बिरः मकालुखबर|

सोमबार (आज) बसेको १०औं केन्द्रीय कमिटीको बैठकले एमाले कार्यदलले बनाएको १० बुँदे प्रस्तावना अनुमोदन गरेको छ । ‘स्थायी कमिटी बैठकले अनुमोदन गरेको प्रस्तावनालाई केन्द्रीय कमिटीले पनि अनुमोदन गरेको छ । अझै प्रयास गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =