मिर्गौलापीडित ‘चम्सुरी’को कलाकारिता यात्राको कथा

मिस नेपाल प्रतियोगी थिइन् पल्पसा

काठमाडौं । हास्यकलाकार पल्पसा डङ्गोल अस्पतालमा उपचाररत छिन् । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी शिक्षण अस्पताल पुगेकी हुन्, जो अहिले पनि शय्यामै छिन् । दीपाश्री निरौलाले बिरामी भएको खबर पाएर अस्पताल पुगेसँगै उनको अवस्था सार्वजनिक भएको हो । उनको तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अस्पताल स्रोतले बताएको छ ।

उही पल्पसाको कलाकारिता यात्राको चर्चा यहाँ गरिएको छ ।

मिस नेपाल प्रतियोगी थिइन् पल्पसा
पल्पसा कीर्तिपुरको पाँगामा जन्मिएकी हुन् । काठमाडौं नै भए पनि त्यहाँको समाज अझै पनि पिछडिएको छ । ३३ सालमा जन्मिएकी पल्पसालाई मनोरञ्जन क्षेत्र प्रवेश सहज थिएन । तर, उनले क्याम्पस पढ्न आउँदा एक दिन पत्रिकामा मिस नेपालको फारम खुलेको थाहा पाइन् । उनी सहभागी भइन् । र, वेस्ट ड्रेस अवार्डसमेत प्राप्त गरिन् । त्योताका उनी आफूलाई नेपालमा दोस्रो पटक हुँदै गरेको यो प्रतियोगिताको सर्ट लिस्टमा पर्छु भन्ने लागेकै थिएन ।

तर, उनको जीवन परिवर्तनको आधार नै मिस नेपाल प्रतियोगिताको समयको तालिम बन्न पुग्यो । मिस नेपालमा सहभागिता जनाएकै कारण आजकी पल्पसा बनेको उनी स्वयम् बताउँछिन् ।

कलाकार बन्ने योजना थिएन
पल्पसाको कलाकार बन्ने कुनै योजना थिएन । उनलाई नृत्यमा भने रुची थियो । नाँच्नकै लागि भनेर उनी घरबाट भागेर काठमाडौंसँगै ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा पुग्थिन् ।

नृत्य गर्दा घरमा आमाबाहेक कसैको साथ थिएन । माघमा एसएलसीपश्चात् रिजल्ट आउन ६ महिना लाग्थ्यो । त्यो समय उनले कम्प्युटर सिक्न जान्छु भनेर नृत्य सिक्न थालिन् । पहिलो एक महिना कम्प्युटर कक्षामा गएर उनले सर्टिफिकेट ल्याएर घरमा देखाइन् । त्यसपश्चात् भने कम्प्युटर सिक्न लगेको पैसाले राजु साहसँग नृत्य सिक्न थालिन् । र, गाईजात्राजस्ता केही कार्यक्रममा नाँच्न थालिन् ।

सुत्केरीमै ‘मेरी बास्सै’ मा काम शुरु
उनले केही टेलिसिरियलमा काम गर्न थालेकी थिइन् । यही क्रममा उनले पहिलो छोरीको जन्म भयो । त्यसपछि उनले नृत्य र अभिनय बन्द नै गरिन् । उनको ज्यान पनि मोटो भयो । अर्को सन्तान पनि चाहिन्छ भन्ने सल्लाहअनुसार उनले दोस्रो सन्तान जन्माइन् ।

छोरी जन्मिएलगत्तै उनले दमन रुपाखेतीले ‘मेरी बास्सै’ टेलिशृंखला सुरु गरेको थाहा पाइन् । उक्त सिरियलबाट सुत्केरी भएको ३७ दिनमा उनलाई कामको अफर आयो । ३८ दिनकी दुधे छोरी छोडेर उनी छायाङ्कनमा पुगिन् । यही कार्यक्रमले उनलाई ‘चम्सुरी’ नामले दर्शक माझ परिचित बनायो ।

हजुरआमाको निधन हुँदा स्टेजमै
कला कर्ममा लागेको दुखद् क्षण सम्झिँदा उनी हजुर आमाको मृत्युको क्षण सम्झिन्छिन् । तेस्रो पुस्तामा पहिलो पटक छोरीको रूपमा उनको जन्म भएको थियो । त्यसैले परिवारकै प्रेम उनीमाथि खनिएको थियो । हजुरआमाकी प्रिय नातिनी थिइन्, उनी । बिरामी हजुरआमालाई भेटेर अस्पतालबाट उनी कार्यक्रममा हिँडिन् । उनी स्टेज चढ्नै लाग्दा हजुरआमाको निधनको खबर आयो । एक पटक त उनले आयोजक सँग आफूलाई फर्काइदिन आग्रह गरिन् । तर उनी उक्त कार्यक्रममा एक्ली राष्ट्रिय स्तरकी कलाकार भएकोले फर्काउन नमिल्ने आयोजकले बताए । उनले सोचिन्— ‘अब हजुरआमाको मुख त देख्न पाइनँ, दर्शकको मायालाई लत्याउँदिनँ ।’ त्यस्तै, सुत्केरीमै छोरी छोडेर छायाङ्कनमा जाँदाको पीडा सम्झिँदै उनी कसैलाई पनि कामको बेला सन्तान नजन्माउन आग्रह गर्छिन् ।

टेक लिएर आयो, एक छिन् रेस्ट गर्दा स्तनबाट दूध बग्न थाल्थ्यो । छोरीको यादले सताउँथ्यो । तर उनी बिचलित भइनन् । त्यसैले आजको दिनमा उनले कलाकारिताको कमाइले घर, गाडी किनेर सन्तानलाई राम्रो शिक्षा र लालनपालनको व्यवस्था गर्न सफल छिन् ।

हिम्मतिली पल्पसा
पल्पसालाई कहिल्यै पनि आफू दबिनुपर्छ भन्ने लागेन ।

सबै पेसामा महिलालाई दबाउने र हेयको दृष्टिकोणले हेरिने परिपाटी भए पनि महिला हेपिन नहुने बताउँछिन्, उनी । घरमा श्रीमान् र पिताको अन्डरमा समेत नबस्ने उनको व्यक्तित्व उनले निभाउने चरित्रमा समेत झल्किन्छ । यही सोचसहित उनले टेलिशृंखला दृष्टिसमेत निर्देशन गरेकी छन् । उनले १६२ भाक निर्देशन गरेको उक्त सिरियललाई अधिकांश नेपाली दर्शकले मन पराएका छन् ।

भट्टी पसल साहुनी
पल्पसा पहिलो पटक म्युजिक भिडिओका लागि कमल गाउँलेले अफर गरे । उनलाई पहिलो पटक गरेको काम नै सहज लाग्यो । त्यसपछि उनले भिडियोमासमेत निरन्तर काम गर्न थालिन् ।

म्युजिक भिडिओमा भट्टी पसल साहुनीको क्यारेक्टर आवश्यक पर्नासाथ उनको नाम आउँथ्यो । यही कुरा समेटेर गीत ‘भट्टीकी साहुनी’ समेत बनेको छ । त्यस्तै तीज गीतमा नाच्न हास्य कलाकार चाहिँदासमेत उनकै नाम आउने गर्छ । यसैले उनी भिडिओमा समेत निरन्तर जमिरहिन् ।

पल्पसालाई शीघ्र स्वास्थ्यलाभको कामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *