ठाकुर-महतोपक्षीय जसपा पनि सरकारमा जाँदैछ ?

विश्वासको मत जसपा मिलनको सन्देश हो ?

काठमाडौं । असार २८ गतेको सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार (हिजो) संसद्बाट विश्वासको मत लिए । १६५ विश्वासको मत पाएका प्रधानमन्त्री देउवालाई जनता समाजवादी पार्टी (जसपा), नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पनि मतदान गर्‍यो । साँझ ५ बजेसम्म अनिर्णित बसेको ठाकुर–महतो पक्षले अन्ततः मतदान गर्‍यो । जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष सत्तारुढ गठबन्धनमै छँदै थियो । भट्टराई–यादव पक्षमा जसपाको १९ जना सांसद पहिले नै थिए । देउवालाई प्रधानमन्त्री बनाउन भट्टराई–यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए भने गठबन्धनकै सरकार बन्ने भएपछि ७ जना सांसद थपिएका थिए । त्यसपछि १३ जनामा खुम्चिएको ठाकुर–महतोपक्षीय जसपाले पनि देउवालाई विश्वासको मत दिने निर्णय गर्‍यो । सोहीबमोजिम उसले देउवालाई विश्वासको मत दियो । ठाकुर–महतो पक्षका नेता एकवाल मियाँले मकालुखबरसँग भन्छन्— ‘प्रधानमन्त्री शेरबहादुरजीले हामीलाई पत्रै पठाएर विश्वासको मत माग्नुभयो । त्यसपछि हामीले पनि छलफल गर्‍यौँ, अन्ततः दिने नै भयौँ र दिइसक्यौँ पनि ।’

त्यसो त ठाकुर–महतो पक्षीय जसपाले देउवालाई विश्वासको मत दिएपछि कतिपयले सरकारमा जाने विश्लेषण गरेका छन् । यद्यपि पार्टीमा त्योबारे छलफल भइनसकेको नेता मियाँको दाबी छ, भन्छन्— ‘हामी सरकारमा जानेबारे चाहिँ छलफल भएको छैन । हाम्रो अध्यक्षज्यू महन्थजी र वरिष्ठ नेता राजेन्द्रजीले जे भन्नुहुन्छ, जे जे गर्नुहुन्छ हामी त्यतै लाग्ने हो । अहिलेसम्म त्योबारे केही सुनिएको छैन र पार्टीमा त्योबारे संवाद पनि भएको छैन । यदि प्रस्ताव नै आयो भने त पछि हट्दैनौँ होला ।’

जसपा अहिलेसम्म विभाजन भएको छैन, अहिलेसम्म एकीकृत नै छ ।

अर्का एक नेताकाअनुसार भने जसपाको ठाकुर–महतो पक्षमा सरकारमा जानेबारे छलफल हुँदैछ । ‘विश्वासको मत दिइसकेपछि त स्वाभाविक रुपमा योबारे कुरा हुनु पनि स्वाभाविक नै हो,’ ती नेताले मकालुखबरसँग भने— ‘हामी सरकारमा त जान्छौँ नि किन जाँदैनौँ र ? राष्ट्रिय सहमतिको सरकार बन्ने भए र हामीलाई पनि प्रस्ताव आए त नजाने कुरै रहेन ।’ पार्टीमा केही नेताहरुसँग सरकारमा जानेबारे कुराकानी भएको ती नेताको भनाइ छ । ती नेताले भनेका छन्— ‘प्रधानमन्त्रीज्यूले केही आश्वासनहरु दिनुभएको छ ।’

प्रधानमन्त्रीले सरकारमा आउनुस् भन्ने प्रस्ताव गर्नुभएको छ ? भन्ने जिज्ञासामा ती नेताको जवाफ थियो— ‘त्यसै त भन्नुभएको छैन । हिजो सिंहदरबारमा केही संवादहरु भए, त्यहाँ कुराकानी भएअनुसार धेरै आश्वासनहरु दिनुभएको छ । ती आश्वासनमा उहाँले सहमतिको राष्ट्रिय सरकार बनाउनेदेखि लिएर मिलेर सरकार बनाउनेसम्मको कुरा बोल्नुभएको छ । त्यसपछि हामीले पनि विश्वासको मत दिएका हौँ ।’

विश्वासको मतलाई जसपा मिलनको सन्देशकै रुपमा लिँदा पनि फरक पर्दैन, यसलाई यही रुपमा लिँदा हुन्छ ।

उसो त कतिपयले जसपाको ठाकुर–महतो पक्षलाई ‘संसद् विघटन र पुनःस्थापना दुवै ठिक’ लाग्ने गरेको भनेर आलोचनासमेत गरेका छन् । खासगरी ठाकुर–महतो पक्षले देउवालाई विश्वासको मत दिएपछि यो आलोचना सामाजिक सञ्जालहरुमा यत्रतत्र देखिए । हुन पनि यसअघि केपी शर्मा ओलीलाई पनि ठाकुर–महतो पक्षले विश्वासको मत दिएका थियो । यसो हुँदा ठाकुर–महतो पक्षले देउवा वा ओली दुवैलाई स्वीकारेको र ‘अवसरवादी’ भएको भन्दै आलोचना भएको हो । यो सन्दर्भप्रति नेता लक्ष्मण लालकर्ण भन्छन्— ‘हामी पनि संसद्कै पक्षमा छौँ र त देउवाजीलाई विश्वासको मत दियौँ । ओलीले पनि गुण लगाउनुभयो, त्यसैले दियौँ । यसमा ठूलो केही छैन ।’

विश्वासको मत जसपा मिलनको सन्देश हो ?
आपसमा लडिरहेका जसपाको दुवै पक्ष आइतबार एउटै गोरेटोमा हिँडे । दुवै पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए । यसपछि जसपा मिलेको कतिपयले आकलनसमेत गरिरहेका छन् ।

यद्यपि जसपाको आपसको रिसइबी कागजी रुपमा निर्वाचन आयोगमा छ । देउवालाई विश्वासको मत दिएर जसपा एकताको सन्देश दिनुभएको हो ? भन्ने प्रश्नमा नेता शरदसिंह भण्डारीको जवाफ छ— ‘जसपा अहिलेसम्म विभाजन भएको छैन, अहिलेसम्म एकीकृत नै छ । यसलाई एकीकृत राख्न छलफल शुरु पनि भएको छ । कस्ता–कस्ता पार्टीहरू फुटेर पुनः जुटेका छन् भने जसपा त अहिले कानुनी रूपमा एउटै छ । यसलाई अझै एकीकृत राख्न सकिन्छ भन्ने आशा छ ।’

नेता एकवाल मियाँको मत पनि उतै छ । भन्छन्— ‘यसलाई एउटा सन्देशकै रुपपमा लिएपनि हुन्छ । पार्टी मिलेको खण्डमा त राम्रो हुन्थ्यो ।’ केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा आपसमा बाझिएका जसपाको दुई खेमाको विवाद निर्वाचन आयोगमा ‘डल्लै’ छ ।

गत ३ गते सुरुवाती बहस भएको जसपाको विवादमाथि साउन ६ गतेदेखि लगातार रुपमा सुनुवाइ हुँदैछ । नेता मियाँ यही आयोगको फैसलापछि पनि पार्टीलाई एक बनाउन सकिने तर्क गर्छन् । ‘हामीले पार्टीलाई एकताबद्धै गरेर जानुपर्छ भनेका छौँ । अस्ति उपेन्द्र यादवजीले पार्टी एक रहन सक्दैन भनेर भन्नुभयो निर्वाचन आयोगमा । हामी सधैं एकताको पक्षमा छौँ । आयोगको निर्णयपछि पनि हामी मिल्छौँ भन्दा त केही हुँदैन होला । नेताहरु सबै मिलिरहेका छैनन् । समस्या यहीँनेर भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *