राजीनामा दिँदै किन कड्किए भीम रावल सुरेन्द्र पाण्डेसँग ?

काठमाडौं । सिंहदरबार परिसरमा पत्रकारहरुको बीचमा उभिएर एमाले उपाध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य भीमबहादुर रावलले भन्दै थिए— ‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’
यो वाक्यांशलाई टुङ्ग्याउन बाँकी छँदै एमाले नेता सुरेन्द्र पाण्डेले दाहिने पाखुराबाट तान्दै रावललाई भने— ‘कमरेड ! आउनुस् त एकछिन भित्र जाऔं ।’ रावल तत्कालै काउन्टर जवाफ दिँदै कड्किए, भने— ‘ए ए… नगर्नू है मलाई । प्लिज, मलाई नगर्नू है, उता जानुस् । मलाई पत्रकारहरुसँग कुरा गर्न दिनुस् ।’
उक्त दृश्य व्यक्तिगत रुपमा रमाइलो मानिरहेका प्रायः पत्रकारहरुको ध्यान राजीनामा पत्रले खिच्यो, उनीहरुले त्यति धेरै यो विषयलाई उठाएनन् । तर, त्यहाँ नेता पाण्डेले सांसद रावललाई ‘राजीनामा दिन’बाट रोक्न खोजेका थिए । तर, नेता पाण्डे सफल भएनन् । ‘मलाई नचलाउनू’ भन्ने रावललको जवाफलाई शिरोपर गर्दै नेता पाण्डे अलिक उता लागे । रावलले आफूले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गरे ।








