पहुँचवालालाई पहिलै खोप, वृद्धवृद्धा वञ्चित

पोखरा । पोखराका खोप केन्द्रहरुमा बिहानैदेखि वृद्धवृद्धाको लाम छ । शनिबार स्थगित भएको खोप कार्यक्रम आइतबारदेखि सुचारु हुने सूचना पाएपछि उनीहरू बिहानै खोप केन्द्र पुगे । साढे १० बजेसम्म लाइन लागेका उनीहरुलाई खोप केन्द्रबाट खोप आएन, कार्यक्रम नै स्थगित भएको सूचना आयो ।

पहुँचका भरमा कम उमेर समूहका व्यक्तिले खोप लगाएपछि तोकिएका उमेर समूहका नागरिक खोप सुविधाबाट वञ्चित भएका छन् । सरकारले खोप पठाएपछि मात्रै शिक्षकहरुलाई लक्षित समूहमा राखेपछि खोपको हाहाकार भएको प्रदेश स्वास्थ्य निर्देशक खीमबहादुर खड्काले जानकारी दिए । तर अहिलेसम्म जिल्लाभर कतिले खोप लगाए भन्ने तथ्यांक समेत सरकारी निकायले सार्वजनिक गरेको छैन ।

‘१० देखि १५ हजार शिक्षकहरुले खोप लगाए । सुरुमा उहाँहरुको सूची हामीसँग थिएन । धेरै शिक्षक हुनुहुने रहेछ,’ उनले भने, ‘खोप पठाएपछि लक्षित समूह थपियो । हामीले व्यवस्थापन गर्नै सकेनौं ।’ तोकिएका मध्ये आधा व्यक्तिले पनि खोप नपाएपछि खोपकेन्द्रहरुमा अहिले तनाव छ । खड्काका अनुसार साउन ८ गतेअघि खोप कार्यक्रम चल्दैन ।

‘माथीबाटै ७ गतेअघि खोप नआउने खबर आएको छ । त्यो दिनसम्म अब स्थगित भयो,’ उनले थपे, ‘खोप आएपछि हामी सूचना दिन्छौं ।’ थप व्यवस्थापनका लागि आइतबार नै स्वास्थ्य समितिको बैठक बोलाइएको उनले सुनाए ।

‘रोक्ने भनेर प्रदेशबाट फोन आयो । यसबारे अरु कुरा जानकारी छैन,’ पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले भने, ‘कति दिन रोक्ने हो ? किन रोक्ने हो थाहा छैन । हामीले आजको खोप कार्यक्रम रोकेका छौं ।’ अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सन खोप भने कास्कीमा २५ हजार बाँकी छ ।

उपयुक्त समय हेरेर त्यो वितरण गरिने बताइएको छ । १ लाख २६ हजार डोज खोपमध्ये अरु खोप १० वटा जिल्लामा वितरण भइसकेको छ । कास्कीमा यसअघि लगाइएको कोभिसिल्ड पनि अभाव छ । पहिलो डोज लगाएर बाँकी भएकाहरुलाई दोस्रो डोजको व्यवस्था हुन सकेको छैन ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले कोरोना खोपको दुरुपयोग रोक्न र अभियानलाई व्यवस्थित गर्न तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको बताइन् । ५५ वर्षमाथिका नागरिक, यातायात मजदुर, शिक्षक, स्वास्थ्यकर्मी,वैदेशिक रोजगारीमा जाने नागरिक लगायतलाई प्राथमिकतामा राखेर शुरु गरिएको खोप कार्यक्रम अहिले स्थगीत छ । गण्डकीका १० जिल्लामा भने नियमित चलिरहेको छ ।
‘खोपका सम्बन्धमा धेरै गुनासाहरु आए । प्राथमिकतामा परेकाहरुले खोप नपाएको र दुरुपयोग भएको भन्ने भएपछि व्यवस्थित योजना बनाउन अहिले स्थगित छ,’ उनले भनिन्, ‘दुरुपयोग रोक्नका लागि संयन्त्र विकास गरिएको छ । कडाइका साथ अनुगमन हुन्छ । निर्धारित समूहले खोप पाउनुहुन्छ ।’ आज र भोलि मजदुरहरू र ५ गते वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि खोप कार्यक्रम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *