प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौँ । सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । सभामुख अग्नि सापकोटाकाे सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभाको बैठककमा विश्वासको मत लिने भएका हुन् ।
‘विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भइसकेको छ,’ स्रोतले भन्यो, ‘आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुनेछ ।’
सर्वोच्चको आदेशबाट पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह चार बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएकी हुन् । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ ।
याे पनि : पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची
विसं २०७४ को निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा विभाजनपछिको घटनाक्रमले एमालेलाई यस अधिवेशनमा प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक(एक तथा एक स्वतन्त्र सांसद छन् ।
विश्वासको मत प्राप्त गर्न अहिले १ सय ३८ जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ सांसद छन् । यसआधारमा देउवालाई बहुमत पु-याउन थप २९ सांसदको समर्थन आवश्यक छ । जसपाका ३२ सांसद छन् । कांग्रेस, माओवादी केन्द्र जसपाका सबै सांसदले मत दिए देउवाको बहुमत पुग्छ । तर, जसपाको सबै मत देउवाले पाउने सम्भावना कम छ । उपेन्द्र-बाबुराम पक्षमा अहिले १४ सांसद मात्र छन् । ठाकुर पक्षमा १८ सांसद छन् ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पेस गरिएको हस्ताक्षरमा उपेन्द्र-बाबुराम पक्षका १२ सांसदले मात्र हस्ताक्षर गरेका थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने क्रममा ठाकुर पक्षमा रहेका दुई सांसद असन्तुष्ट भएर उपेन्द्र पक्षमा खुलेका छन् । जसपाका सबै सांसदले मतदिए सजिलै विश्वासको मत पाइनेछ ।
थप पढ्नुस्- अदालतको निर्णयलाई गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष
नेपाल समूहका २३ सांसदको मत पाउनेमा देउवा ढुक्क जस्तै छन् । आफूलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका नेता नेपालले खेलेको हुनाले देउवाले उनी पक्षको समर्थन पाउने विश्वास लिएका छन् । पटकपटकको भेटमा देउवालाई नेता नेपालले आफूले सहयोग गर्ने आश्वासन पनि दिएका छन् । विश्वासको मत पाएपछि देउवा प्रतिनिधि सभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बन्नेछन् । तर, मत पाएनन् भने प्रतिनिधि सभा विघटन गरेर त्यसको ६ महीनाभित्र चुनाव गर्नुपर्नेछ ।
प्रतिनिधि सभाको बाँकी कार्यकालभर नै देउवा प्रधानमन्त्री रहे भने पनि अबको १७ महीनापछि हुने प्रतिनिधि सभाको आवधिक निर्वाचन देउवाले नै गराउनेछन् ।








