सरकारमा जानेबारे सोचेका छैनौँ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले मकालुखबरसँग भनिन्— ‘अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन । सायद हामी सरकारमा जाँदैनौँ । यो संस्थागत निर्णय हुन्छ । व्यक्तिगत निर्णय होइन । हामी सरकारमा जाँदैनौँ । यही कुरा सरकारमा चलिरहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई सरकारमा सामेल हुन पटक–पटक आग्रह गरेपनि आफ्नो पार्टीले सरकारमा जाने विषयमा नसोचेको उपाध्यक्ष पौडेलल बताइन् । ‘प्रधानमन्त्री शेरबहादुरजी र पुष्पकमलजीले पटक–पटक सरकारमा सामेल हुनको लागि आग्रह गर्नुभएको छ । आजै पनि उहाँहरुले फोन गर्दै हुनुहुन्थ्यो । पार्टीमा यस विषयमा कुराकानी हुँदैन । तर, सरकारमा नजाने सम्भावना बढी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले पदबाट हटाइदिएपछि कांग्रेस—माओवादीसँगै माधवकुमार नेपाल–झलनाथ खनालपक्षीय एमाले, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी र जनमोर्चासम्बद्ध विपक्षी गठबन्धनले सरकार गठनको जिम्मेवारी पाएको छ । यसअघि हिजो मंगलबार (हिजो) नै कांग्रेसका बालकृष्ण खांण र ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

अब जसपा र राष्ट्रिय जनमोर्चाबाट पनि मन्त्री बनाउने सरकारले तयारी गरेको छ । विपक्षी एमालेले भने गठबन्धनमा नरहने बताइसकेको छ । सोमबार बसेको विपक्षी दलको बैठकमा नेता माधवकुमार नेपालले भनेका थिए— ‘अब हामी गठबन्धनमा रहन्नौँ ।’ पार्टी एकता कायम गर्न भन्दै संस्थापन पक्ष र विपक्षी एमालेबीच लगातार सम्वाद जारी छ ।

संघीयता हट्नुपर्ने मूल राजनीतिक एजेण्डा भएको जनमोर्चाको प्रतिनिधि सभामा एक सिट छ । पछिल्लो समयको ओलीको प्रतिगमनका विरुद्ध दह्रोखह्रो आवाज उठाउनेमध्येको एक दल जनमोर्चा पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *