सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई आज पदमुक्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधानले दिएको अधिकारअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिएको र बाँकी काम पनि सोहीअनुसार अघि बढाइने बताए ।

मुख्यमन्त्री शाहले बजेटका सम्बन्धमा केही प्राविधिक त्रुटि भएको सरकारबाट स्वीकार गरिसकिएको उल्लेख गर्दै त्यसको समाधानका उपायबारे छलफल भइरहेको जानकारी दिए । सत्ता साझेदार एमालेबाट ठोस जवाफ नआएपछि संविधानले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरिएको उनको भनाइ थियो ।

उनले बिहीबारभित्र बजेट पारित गरिसक्नुपर्ने संवैधानिक समयसीमा रहेकाले सबै पक्षसँग छलफल गरी संविधानबमोजिम निष्कर्षमा पुगिने बताए । मुख्यमन्त्री शाहले एमालेसँग संवाद पूर्ण रूपमा नटुटेको उल्लेख गर्दै बजेट पारित गर्ने विषयमा एमालेसहित अन्य दलसँग पनि छलफललाई निरन्तरता दिइने बताए ।

सबै पक्षलाई एक ठाउँमा ल्याएर संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार बजेट पारित गरिने उनले स्पष्ट पारे । मुख्यमन्त्री शाहले आजै एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =