विवाहित कामिनीको प्रेममा थिए दिलीप कुमार

एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा बुधबार मुम्बईमा निधन भएको छ ।

कुनै चलचित्रको कथा जस्तै जीवन बाँचेका उनको प्रेम कहानी पनि रोचक छ । सायरा बानो उनकी श्रीमती हुन् । तर सायरा  दिलीपकी पहिलो प्रेमिका भने थिइनन् । उनको पहिलो प्रेम अभिनेतृ कामिनी कौसलसँग थियो । उनीहरूको प्रेम १९४८मा चलचित्र ‘शहीद’ को सेटमा सुरु भएको हो । दुवैले विवाहको लागि योजना पनि बनाउँदै थिए ।

एक अङ्ग्रेजी वेबसाइटमा प्रकाशित लेखअनुसार कामिनी दिलीपको प्रेममा पर्दा उनको विवाह भैसकेको थियो।  कामिनीकी दिदी सडक दुर्घटनामा निधन भएपछि कामिनीको विवाह भिनाजुसँग भएको थियो । दिदीको एक बच्चा पनि रहेकाले परिवारको दबाबमा कामिनीको विवाह भिनाजुसँग भयो । जब कामिनीका भाइले उनकी विवाहित दिदी दिलीप कुमारसँगको प्रेममा भएको थाहा पाए, उनले दिलीप कुमारलाई कामिनीसँगको सम्बन्ध अन्त्य गर्न धम्की दिए । कामिनी पनि परिवारविरूद्ध जान सकिनन् । र प्रेमको अन्त्य भयो  ।

कामिनीले एक अन्तर्वार्तामा दिलिप कुमारसँगको सम्बन्ध सुचारु हुन नसक्दा ‘दुबैजना टुक्रिएको’ बताएकी छन् । ‘दिलीप कुमारले आफ्नो जीवनीमा पनि ‘आफू टुक्रिएको’ बताएका छन् । वास्तवमा हामी दुवैलाई नराम्रोसँग आघात भएको थियो । हामी एक अर्कासँग खुसी थियौ । तर म पनि के नै गर्न सक्थेँ र ? मैले कस्लाइ धोका दिने ? म दिलीपलाई प्रेम गर्थेँ  तर श्रीमान् छोड्दा, मेरी मृत दिदीको मन दुख्ने थियो, फेरि मेरा श्रीमान् पनि त असल मानिस हुन् ।

उर्दू लेखक इस्मत चुगताईकाअनुसार कामिनी दिलीपको एक मात्र प्रेमिका भने होइनन् । कामिनी पछि दिलीपको जीवनमा मधुवाला, वैजयंती माला, सायरा बानो र अस्मा रहमान आए । अस्मा दिलीपकी दोस्रो पत्नी थिइन्, जसलाई उनले विवाह गरेको दुई वर्षपछि सम्बन्ध विच्छेद गरे । पछि पुनः सायरा फर्किइन्।

वर्षौंपछि सन् २०१३ मा दिलीप कुमार र कामिनी कौशलको भेट भयो । कलाकार प्राणको अन्त्येष्टिमा भेट भयो । दिलीप आफ्नी पत्नी सायरासँग त्यहाँ पुगेका थिए । दिलीपको कुर्सी कामिनीको छेउमा नै थियो । ९० वर्षीय दिलीपले ८६ बर्सिया कामिनीलाई चिन्न सकेनन् । २०१४ को एक अन्तर्वार्तामा कामिनीले दिलीपले आफूलाई नचिनेको झैँ हेरेको बताएकी छन् । यो कुराले आफूलाई नराम्रो लागेको र बसिरहेको छोडेर गएको बताएकी छन् । दिलीपकुमारलाई बुढ्यौलीले सताउँदै जाँदा जो कोहीलाई पनि चिन्न मुस्किल हुने गर्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *