रोनाल्डोको ‘आवेग’को मूल्य

काठमाडौं । जारी यूरो २०२० मा साबिक च्याम्पियन पोर्चुगल नकआउट चरणमा बेल्जियमसँग पराजित भएर घर फर्कियो । टिमले हारेपनि पोर्चुगलका कप्तान तथा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको चर्चा भने भइरहेकै छ । चार खेलमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा आफूलाई उभ्याएका उनले व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय गोल संख्या पनि १०९ पुर्याए र आफ्नो नाम लेखाए ।

बेल्जियमसँग पराजित भएपछि यूरो २०२० को क्वाटरफाइनल पुग्न नसकेको ‘आवेग’ भने आफ्नो आर्म्ब्याण्ड (टिमका कप्तानले पाखुरामा बाँध्ने फित्ता) मा खन्याए । बेल्जियमले खेल जितेर खुसी मनाइरहँदा ड्रेसिङ्ग रुमतर्फ जाने क्रममा रोनाल्डोले आर्म्ब्याण्ड खोलेर हुर्याएका थिए ।

रोनाल्डोले आर्म्ब्यान्ड हुर्याएको पहिलो पटक भने होइन
उनको आवेग आर्म्ब्याण्डमा परेको यो पहिलो पटक भने होइन । चार महिनाअघि पनि उनी आर्म्ब्याण्डकै कारण चर्चामा आएका थिए ।
तत्कालीन समयमा रोनाल्डोको ‘आवेग’ मूल्य निकै महँगो परेको थियो । सन् २०२२ को विश्वकप फुटबल छनोटअन्तर्गत गत २७ मार्चमा सर्वियासँग पोर्चुगलको खेल थियो । खेलका क्रममा रोनाल्डोले गोल नदिएको झोंकमा फालेको आर्म्ब्याण्ड ७५ हजार डलरमा लिलामी भएको थियो । खेल २–२ को बराबरीमा चलिरहेको थियो । तर इन्जुरी समयमा रोनाल्डोले प्रहार गरेको बल गोललाइन क्रस भइसकेको थियो । गोल भएको खुसी मनाउन रोनाल्डो दौडिसकेका थिए । तर, सर्वियाका गोलरक्षकले बल क्रसलाइनबाट क्लियर गरे ।

रेफ्रीले सर्बियाली गोलरक्षकै पक्षमा निर्णय सुनाए । गोलको मान्यता नदिएपछि आक्रोशित रोनाल्डोले रिसाउँदै निलो रंगको आर्म्ब्याण्ड टच लाइनमा फालेका थिए । एक फायर फाइटरले उक्त आर्म्ब्यान्ड फेला पारेर एक च्यारिटीलाई दिए । यो आर्म्ब्याण्डको पनि लिलामीबाट महँगो मूल्य प्राप्त भएको थियो । तर रोनाल्डोको भने कडा आलोचना भएको थियो ।

तर त्यो घटनामा उनको आलोचना भएपनि त्यो आर्म्डब्यान्डले एक बिरामी बालकको उपचारका लागि योगदान गरेको थियो ।

उक्त आर्म्ब्याण्ड मैदानमा खटिएका अग्नि नियन्त्रक जोर्डिजे भ्युकिएभिकले उठाएका थिए । रोनाल्डोले फालेको उक्त आर्म्ब्याण्ड  भ्युकिएभिकले एक च्यारिटी संस्थालाई दिए । उनले भने— ‘रोनाल्डोले आक्रोशित हुँदै आर्म्ब्याण्ड टचलाइनमा फालेका थिए । मेरै अगाडि आर्म्ब्याण्ड फाल्दा रोनाल्डो क्रोधित देखिन्थे । ब्यान्ड, मैले पछि टिपें ।’

सबैको सहमतिमै आर्म्ब्याण्ड लिलामीमा राखियो र यसबाट उठेको रकम एक ६ महिने बालकको उपचारका लागि खर्च गर्नै निर्णय गरियो । आर्म्ब्याण्ड बोलकबोलको माध्यमबाट ७५ हजार डलर प्राप्त भयो । जुन रकम मेरुदण्डको अवस्था खराब भएका ६ महिने बालकको उपचारमा लागि खर्च गरिनेछ । ती बालकको उपचारका लागि दुई लाख पाउन्ड आवश्यक पर्ने थियो ।

यो खबर सार्वजनिक भएपछि धेरैतिरबाट बालकको उपचारका लागि सहयोग प्राप्त भएको थियो । बालककी आमा नेभेनाले अविश्वसनीय तरिकाले रकम उठेको बताएकी छन् । उनले भनिन्— ‘एउटा आर्म्ब्याण्डले हाम्रो बच्चाको उपचारमा यति ठूलो मद्दत गर्छ भनेर हामीलाई अहिलेसम्म विश्वास नै लागेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *