मोरङको नमूना विद्यालयमा ‘एक शिक्षक‚ एक ल्यापटप अभियान’

विराटनगर । मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका- १ टंकीमा रहेको नरग्रामा नमूना माध्यमिक विद्यालयमा १ हजार ७१९ बालबालिका पढ्छन् । यी बालबालिकालाई पढाउने शिक्षकहरुलाई पनि प्रविधिमा अब्बल बनाउन एक शिक्षक एक ल्यापटप अभियानले कोरोना तथा लकलडाउनको बेलामा पनि घरमै बसेर बढाउन सहज बनाएको छ ।

एक शिक्षक एक ल्यापटप अभियानअन्तर्गत ४२ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । यसलाई विद्यालयले अभूतपूर्व नमूना काम भएको बताएको छ । प्रविधिलाई अंगिकार गर्दै शिक्षकलाई प्रविधिमैत्री बनाउनका लागि एक शिक्षक एक ल्यापटप अभियानले विद्यालयको नमूना उदाहरण प्रस्तुत गरेको छ भने प्रविधिलाई अंगिकार गरेको छ ।

माविकी नेपाली शिक्षिका लक्ष्मी आचार्यले विद्यालयले ल्यापटप दिएपछि ल्यापटपको प्रयोग विद्यालयको काममा प्रयोग हुने गरेको बताइन् । विद्यार्थीलाई पढाउन स्लाइड बनाएने, प्रस्तुती गर्ने र विद्यालय बन्द भएको बेलामा पनि पढाउने विषयको श्रव्यदृश्य सामग्री खोजी गर्नका लागि पनि यसको प्रयोग हुने गरेको बताइन् ।

‘विद्यालयमा ल्यापटप पाउनुभन्दा पहिला पहिला बेसिक कोर्स गरेको थिएँ’, उनले भनिन्, ‘पछि विद्यालयले नै ३ महिनाको तालिम दियो, त्यसबाट धेरै फाइदा लिन पाएँ ।’ अंग्रजी शिक्षक विरेन्द्र यादव पनि यसलाई विद्यार्थीको सिकाइका लागि महत्वपूर्ण काम भएको बताउँछन् । ‘विद्यालयले ल्यापटप दिएसँगै तालिम पनि दिएको थियो,’ उनले भने, ‘तालिमले आईसीटीमा निक्कै फाइदा भएको छ । पुरानो शैलीबाट हुने शिक्षण सिकाइ समयअनुसार परिमार्जित हुँदै गएको छ ।’

No description available.

‘हरेक शिक्षकले शिक्षण सामग्री कम्प्युटरको प्रयोगबाट बनाएर प्रोजेक्टरको प्रयोगले पठनपाठन गर्ने गरिएको छ,’ उनले भने, ‘धेरै पाठहरू स्लाइडबाट तयार गरेर पढाइन्छ ।’ पाठका आधारमा विषयवस्तुअनुसार भिडिओहरू पनि देखाएर विद्यार्थीलाई बालमैत्री पठनपाठन गर्ने गरिएको यादवले बताए । ‘बालमैत्री तरिकाबाट पढाउन प्रोजेक्टर र ल्यापटपको प्रयोग हुन्छ,’ उनी भन्छन्, ‘ईन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई लकलडाउनको बेला पनि घरैबाट पढाउने व्यवस्था गरिएको छ ।’ विद्यालयलाई पेपरलेस गराउने अभियानको रुपमा पहिलो चरणमा शिक्षकलाई पेपरलेस बनाउने प्रयास भएको छ ।

शिक्षक तुल्सी खतिवडाले कहिल्यै कम्प्युटर चलाएका थिएनन् । कहिले कम्प्युटरका बारेमा नजानेका उनले विद्यालयले ल्यापटप दिएपछि उनलाई जसरी हुन्छ कम्प्युटर चलाउनैपर्ने बाध्यता आइलाग्यो । एक शिक्षक एक ल्यापटपले आफूलाई पनि सिक्नैपर्ने बाध्यता आएपछि ३ महिने तालिममा सहभागी भएर त्यसबाट सिक्दै गएको उनी बताउँछन् । ल्यापटप प्राप्त गरेपछि विद्यार्थीको पढाइमा प्रयोग भएको त छ नै‚ शिक्षकले आफ्नो व्यक्तिगत विकासमा पनि ध्यान दिएका छन् । अहिले पनि अनलाइनको प्रयोगले कक्षा १० का ५० प्रतिशत विद्यार्थी लाभान्वित भएको उनी बताउँछन् ।

विद्यालयले पहिलो वर्ष २०७५ सालमा माध्यमिक तहका शिक्षकलाई ल्यापटप उपलब्ध गराएको थियो । दोस्रो वर्ष निम्न माध्यामिक तहका शिक्षकलाई ल्यापटप उपलब्ध गरायो भने पछिल्लो वर्ष प्राथमिक तहका शिक्षकलाई पनि ल्यापटप उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक भिम बस्नेतले बताए ।

विद्यालयले प्रविधि पछ्याउने हो भने शिक्षकलाई अब्बल बनाउनुपर्छ भन्ने सोचले एक शिक्षक एक ल्यापटप अभियान शुरु भएको बस्नेतको भनाइ छ । ‘प्रश्न आफैँ बनाउने, मुल्यांकन फारम आफैँ तयार गरेर विद्यालयमा ल्याएर प्रिन्ट गर्नेमात्र काम हुन्छ‚’ उनले भने, ‘अब समयको मागसँगै डिजिटलाइज हुने प्रयासमा विद्यालयले नमूना काम गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *