कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यतासम्बन्धीको विवाद टुङ्ग्याइने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आइतबार (आज) दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ । बैठकले क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी गरेकोछ । त्यसबारे छलफल गर्न छानबिन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दैछ ।

कांग्रेसले आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरिसकेको छ । यसका साथै कांग्रेसलाई महाधिवेशन गर्नैपर्ने संवैधानिक अड्चन पनि छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार आजको बैठक क्रियाशील सदस्यता विवाद टुङ्ग्याउनेगरी बोलाइएको हो ।

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले उजुरीमाथि छानबिन गरिरहेको छ । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुङ्ग्याउनेबारे केन्द्रित हुनेछ । समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न सकेको छैन ।

कांग्रेसमा पुराना ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १४औं महाधिवेशनमा शतप्रतिशत सदस्यता बढाउने निर्णयपछि कांग्रेसमा क्रियाशील सदस्यता झण्डै दश लाख पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *