प्रतिनिधि सभा विघटन

रिट निवेदक तर्फको बहस आज सकिने

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार (आज) चौंथो दिन सुनुवाइ जारी छ । आज रिट निवेदनक तर्फका कानुन व्यवसायीले बहस सिध्याउनेछन् । संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी छ । निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागी थप ३ घण्टा समय पाउनेछन् ।

कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीसहित सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागी संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्चमा परेका रिटहरुउपर गत असार ९ गतेदेखि लगातार सुनुवाइ हुँदै आएको छ । विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, इतर एमाले र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्नेलगायतका परमादेश सर्वोच्चमा पेश गरेका छन् । १४६ सांसदको तर्फबाट असार १० मा वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीलगायतले बहस गरेका थिए ।

यस्तै असार १२ गते वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणी पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरे भने गत असार ९ गते अधिवक्ता बद्रीबहादुर कार्की, महादेव यादव, शम्भु थापा, अधिवक्ताहरू गोविन्द शर्मा बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *