ट्याङ्करको ठक्करबाट दुई बालिकाको मृत्यु

जनकपुरधाम । एउटै ट्याङ्करले दुई किलोमिटरकै दूरीमा दुईवटा मोटरसाईकललाई ठक्कर दिँदा सप्तरीमा दुई बालिकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका— २ सितापुरमा एउटै ट्याङ्करले दुई किलोमिटरकै दूरीमा दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको ज्यान गएको हो ।

शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्याङ्करले ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो । ट्याङ्करको ठक्करबाट दुवै मोटरसाइकलको पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

दुर्घटनामा स ११ प २५८५ नम्बरमा सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी प्रमाणीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

सितापुरभन्दा करिब २ किलोमिटरको दूरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याङ्करले स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मोहम्मद अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको ज्यान गएको छ भने सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।

घाइतेहरुको उपचार ठेलियास्थित अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *