११ मन्त्री पदमुक्त भएपछि ठाकुरले बोलाए बैठक

काठमाडौं । महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्दैछ । नेता लक्ष्मणलाल कर्णकाअनुसार बैठक दिउँसो १ बजे बबरमहलमा बस्दैछ । ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ,’ नेता कर्णले भने— ‘खासगरी पछिल्लो ३ दिनयता विकसित राजनीतिक घटनाबारे बैठकमा छलफल हुने भनेर अध्यक्षज्यूले बैठक बोलाउनुभएको हो ।’

ठाकुरपक्षीय जसपा गत जेठ २१ गते केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो । तर, सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको भन्दै ओलीको पछिल्लो मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय खारेज गरेसँगै जसपाका ११ मन्त्री पदमुक्त भएका छन् । यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न अध्यक्ष ठाकुरले बैठक बोलाएका हुन् । ‘सर्वोच्चको फैसलालाई मान्नैपर्यो,’ नेता कर्णले भनेका छन्— ‘अब यसपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टी पहिले आफू स्पष्ट हुनुपर्छ भन्ने मान्यताका साथ बैठक बोलाइएको हो । बैठकले केही निर्णय गर्न सक्छ अबको पार्टीको दिशानिर्देश कता भन्ने सन्दर्भमा ।’

अब जसपा एक भएर अगाडि जान्छ ? भन्ने प्रश्नमा नेता कर्ण जसपा पहिल्यैदेखि एक नै रहेको जिकिर गर्छन् । भने— ‘जसपा एक नै छ । पार्टी हो फरक विचार, सिद्धान्त र निष्ठाका मान्छेहरु नेताहरु निस्किहाल्छन् । तर, अन्ततः पार्टी एकताबद्ध भएरै जाने हो ।’

त्यसअघि ओली नेतृत्वको सरकारमा जाने कि नजाने भन्नेबारे जसपामा विवाद थियो । अर्का अध्यक्ष उपेन्द्र यादवपक्षीय जसपा भने ओली नेतृत्वको सरकारमा नजाने बरु गठबन्धनबाट नयाँ सरकार बनाउनुपर्नेमा थियो । अन्ततः विवादकै बाबजुद सरकारमा गएको ठाकुरपक्षीय जसपाका ९ मन्त्री र २ राज्यमन्त्री १९ दिनमै पदमुक्त हुनुपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *