कोरोनाको तेस्रो लहरको पूर्वतयारी भन्दै सीमामा पुगे प्रदेश मन्त्रीहरु

धनगढी । २०७६ को अन्त्यतिर नेपालमा कोरोना भाइरस भित्रँदा स्थिति अन्योलपूर्ण थियो । कोरोना भाइरस के हो ? कसरी सर्छ ? कसरी जोगिने ? संक्रमण फैलिन नदिन कस्ता उपाय अपनाउने भन्ने यकिन थिएन । अन्यौलकैबीच संक्रमण बढ्दै गएपछि त्रास फैलियो । भारतमा पनि संक्रमण तीब्र बन्दा त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किन थाले । तर कोरोना प्रभावित क्षेत्र भारतबाट नेपाली स्वदेश फर्किदा सरकारले सीमा नाकामा ध्यान दिन सकेन । नेपालमा कोरोना भाइरस झनै फैलियो । संक्रमण तीब्र बन्यो । हजारौंको संख्यामा स्वदेश फर्किएकाहरुलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल रह्यो । सरकारले प्रयाप्त तयारी गर्न सकेन ।

भारतबाट आउने नेपालीको संख्या धेरै हुँदा सरकारले क्वारेन्टाइनलाई व्यवस्थित गर्न सकेन, न त आइसोलेसन व्यवस्थित बने । हजारौंमा संक्रमण फैलियो, कैयौंले ज्यान गुमाए । जसोतसो क्वारेन्टाइन र आइसोलसन सञ्चालन गरियो । योबीचमा क्वारेन्टाइन र आइसोलसनको अब्यवस्था कम्ती कहालीलाग्दो थिएन ।

विस्तारै संक्रमण विस्तारै सामान्यतर्फ उन्मुख भयो । क्वारेन्टाइन र आइसोलसन हटे । केही महिनाको लकडाउनपछि अवस्था सामान्यतर्फ उन्मुख बन्यो ।

जनजीवन पूर्ववत् अवस्थामा फर्किन लाग्दा भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भयो । भारतमा कोरोना फैलिइरहँदा नेपालमा भने त्यसको कुनै परवाह थिएन । सत्तासिन राजनीति दल नै आपसी विवादमा फस्यो । सरकार कोरोना फैलिन नदिन पूर्वतयारी गर्नुको सट्टा राजनीतिक दलको विवादका कारण अन्यत्र मोडियो । राजनीतिक दलको विवादले सरकारनै डगमगाउने स्थिति हुँदा सरकारको ध्यान कोरोना संक्रमण रोक्ने तयारी भन्दा पनि सत्ता कसरी टिकाउनेतर्फ केन्द्रित भयो । राजनीतिक सभा सम्मेलन गर्ने होडबाजी नै चल्यो ।

त्यसको असर सबै प्रदेशमा पनि पर्यो । त्यसबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो हुन सकेन । कोरोनाको दोस्रो लहरको सामना कसरी गर्ने भन्नेतर्फ प्रदेश सरकारको ध्यान खासै केन्द्रित हुन सकेन । मुख्यमन्त्री र मन्त्रीहरुले राजनीतिक खिचातानीमै समय बिताए । प्रदेशमा अक्सिजन नपाएर संक्रमित छटपटाइ रहँदा प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट विमुख जस्तै बन्यो । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको बेला न सीमा क्षेत्रमा कडाई गरियो न स्वास्थ्य संस्थामा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गरियो । प्रदेशमा दैनिक संयौं संक्रमित थपिँदै गए । एकैदिन २० जना भन्दा बढीले ज्यान गुमाए ।

तर, अहिले दोस्रो लहर मत्थर हुँदै गइरहेको छ । यसअघि एक हजारको हाराहारीमा संक्रमित फैलिरहेको सुदूरपश्चिम प्रदेशमा अहिले दैनिक संक्रमण ५०÷६० जनामा झरेको छ । दैनिक ज्यान गुमाउने संख्या पनि १/२ मा झरेको छ ।
सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव उच्च बिन्दुमा रहेका बेला सम्पर्कबिहीन बनेका प्रदेश सरकार मन्त्री अहिले संक्रमण दर घटेपछि भने ‘अनुगमन’ र ‘निरीक्षण’मा निस्किन थालेका छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का दलबलसहित सीमा नाका गौरीफन्टा पुगे । त्यहाँ पुगेर मन्त्रीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रहेको धारणा राखे । उनीहरुले भने– तेस्रो लहर फैलिन नदिन पूर्वतयारी दलबलसहित सीमा नाकामा पुगेको मन्त्रीहरुले तेस्रो चरणको कोरोना संक्रमण रोक्न प्रदेश सरकार पूर्वतयारीमा लागेको धारणा राखे ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले आफू भर्खरै मन्त्री बनेसँगै कोरोना रोकथामका लागि पूर्वतयारीमा सक्रिय रहने बताइन् । ‘कोरोना रोकथामका लागि प्रदेश सरकार यसअघि पनि लागेकै थियो,’ उनले भनिन्, ‘मन्त्रालयको जिम्मेवारी नयाँ व्यक्तिले सम्हालेपछि थप सक्रिए भएर लागेका छौं । जिम्मेवारी पाएको छोटो समयमै नाकाको अवस्था बुझ्न आएका छौं ।’ स्थानीय तहसंग सहकार्य गरेर प्रदेश सरकार कोरोना रोकथामका लागि अगाडि बढ्ने उनले बताइन् ।

सामाजिक विकास मन्त्री लालबहादुर खड्काले विश्वमा कोरोना भाइरसको तेस्रो लहर पनि देखिइसकेको अवस्थामा नेपालमा नभित्रियोस् भन्न प्रदेश सरकार पूर्वतयारीमा जुटेको बताए । उनले त्यसैको पूर्वतयारीका लागि नाकामा स्थलगत अनुगमनमा आएको बताए । जसका लागि कैलाली, कञ्चनपुरमा होल्डिङ सेन्टर बनाउनेदेखि अस्पताल स्तरोन्नतीको काम अगाडि बढेको उनले बताए । ‘नाकामा हेल्प डेस्कलाई व्यवस्थित गरेर एन्टीजेन परीक्षणलाई थप प्रभावकारी बनाउँछौं,’ उनले भने, ‘कोरोना पोजिटिभ भएकालाई कैलाली र कञ्चनपुरमा बनाउन लागिएका होल्डिङ सेन्टरमा राख्छौं । रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई सम्बन्धित पालिकामा पठाउने व्यवस्था गर्छाैं ।’

सीमामा अनुगमनकै क्रममा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले नाकामा रहेको भौतिक संरचनाको अवस्थाको बारेमा जानकारी लिए । उनले आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि प्रक्रिया पुर्याएर आउन कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापालाई अनुरोध गरे । उनले नाकामा रहेका अन्य भौतिक संरचनाको पनि अनुगमन निरीक्षण गरे । मन्त्रीहरुसंगै अनुगमनमा रहेका धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले यसअघि सुस्ताएको प्रदेश सरकारको आँखा अहिले खुलेको बताए । उनले सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने र त्यसका लागि प्र्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले उपमहानगरपालिकाले आफ्नो तर्फबाट पनि सीमा नाकामा हेल्प डेक्स राखिएको बताए ।

मन्त्रीसहितको जम्बो टोलीमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रदेश मन्त्रालयका सचिवहरुलगायत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *