जसपा विवाद

यादव पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग जाने, ९ मन्त्री निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ९ मन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीको नीति र अडानविपरीत केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको भन्दै यादव पक्षीय जसपाले ९ मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । बिहीबार (आज) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । योसँगै बैठकले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जानेसमेत निर्णय गरेको छ । ‘निर्वाचन आयोग चाँडै जाने निर्णय भयो,’ नेता रामसहाय प्रसाद यादवले मकालु खबरलाई भनेका छन् ।

बैठकले राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र रेणुका गुरूङ निष्कासन गर्ने निर्णय गरेको हो । यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ ।
यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यसअघि नै निष्कासन गरेको छ । तर, निर्वाचन आयोगले भने उक्त निर्णय अमान्य भनेको छ ।

यसैगरी बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ भने चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ । बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बाढी तथा पहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।

मुख्य निर्णयहरू

  • अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने ।
  • पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
  • बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
  • चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ।
  • बाढी  पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ
  • बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *