जसपा मन्त्री भन्छन्- ‘उपेन्द्र यादवले साेधेको स्पष्टीकरण दिँदैनौँ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ९ मन्त्रीहरुलाई सोधेको स्पष्टीकरण आफूहरुले नबुझाउने मन्त्रीहरुले बताएका छन् । यसअघि गत ३० गते यादव पक्षले ठाकुर पक्षका ९ मन्त्रीहरुलाई ‘पार्टी नीति र अडानविपरीत सरकारमा जाने तपाईंहरुलाई किन कारबाही नगर्ने ?’ भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो । तर, म्याद सकिन २ दिन मात्रै बाँकी छँदा मन्त्रीहरु स्पष्टीकरण नबुझाउने अडानमै छन् । मन्त्रीहरुको सबैको एउटै धारणा छ— ‘उपेन्द्र यादवलाई हामीलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन ।’

एकआपसलाई कारबाही गरेको विवरणलाई निर्वाचन आयोगले अमान्य भनेपछि यसअघि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई गरेको कारबाही र महन्थले यादवलाई पार्टीबाट गरेको निष्कासन अमान्य ठहरिसकेको छ । यसपछि आयोगको निर्णयसँग असन्तुष्ट यादव पक्षले आयोगविरुद्ध नै कानूनी लडाइँ लड्ने बताइसकेका छन् । यसको तयारीस्वरुप यादवपक्षीय केन्द्रीय कार्यकारिणी बैठक जारी छ । बैठकमा मन्त्रीहरुको स्पष्टीकरणबारे समेत छलफल हुँदैछ । नेता रामसहाय प्रसाद यादवले मकालु खबरसँग भने— ‘निर्वाचन आयोग र जसपाका केही नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने एजेण्डाहरु छन् ।’

मन्त्रीहरु भने स्पष्टीकरण नबुझाउने अडानमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले भनेका छन्— ‘मकहाँ पत्रै आएको छैन । कसरी दिनु स्पष्टीकरण ?’ पत्र आएकै भएपनि आफूहरु स्पष्टीकरण दिनुपर्छ भन्ने पक्षमा नरहेको मन्त्री कर्ण बताउँछन् । ‘सर्वप्रथमतः पत्र नै पनि आएन । पत्रै आएपनि किन स्पष्टीकरण दिनु हामीले ? के नै कसूर गर्यौँ र ? हामी हाम्रो पहिलो अध्यक्षको सल्लाहमा सरकारमा आएका हौँ । त्यसो हुँदा हामी स्पष्टीरकण बुझाउँदैनौँ, मकालु खबरसँग मन्त्री कर्णले भनेका छन् ।

यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री चन्दा चौधरीले उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको बताउँछिन् । मकालु खबरसँग कुराकानी गर्दै मन्त्री चौधरीले भनिन्— ‘उहाँले पार्टीलाई संगठित भन्दा पनि बिगार्ने काम गर्दै हुनुहुन्छ । हामीलाई पटक–पटक स्पष्टीकरण सोध्ने, कारबाही गर्ने उहाँ खासमा कोही होइन । हामी सरकारमा आएर भएको पनि केही छैन । अहिले जसपा सरकारमा छ कुरा यति हो । जसपको प्रतिनिधित्व गर्दै हामी सरकारमा आएका हौँ । र, यो विषय जसपा स्वयम्को लागि पनि राम्रै हो । उहाँलाई हामीले स्पष्टीकरण सोध्ने अधिकार नै छैन ।’ आफूलाई पत्र भएको थाहा नभएको बताउँदै मन्त्री चौधरीले थपिन्— ‘पत्र मन्त्रालयमा आयो भन्ने सुनेको थिएँ । छ कि छैन मलाई राम्रो थाहा पनि छैन । निष्कर्षमा हामीले स्पष्टीकरण दिँदैनौँ । स्पष्टीकरण बुझाउनेबारे त कुराकानी पनि भएको छैन ।’

यसैगरी युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले पनि आफूहरुले स्पष्टीकरण दिनुपर्छ भनेर नलागेको सुनाउँछन् । भन्छन्- ‘मिडियाहरुमार्फत यो विषयको जानकारी पाइयो । पत्र त प्राप्त भएको छैन मलाई पनि । तर, समग्रमा भन्दा स्पष्टीकरण दिने पक्षमा हामी छैनौँ ।’ आफूहरुले सरकारमा आएकोमा गल्ती नगरेको जिकिर मन्त्री मियाँको छ । ‘हामी जसपाको प्रतिनिधित्व गर्दै सरकारमा सामेल भएको छौँ । हामी सरकारमा आउनु भनेको सिङ्गो जसपा सरकारमा आउनु हो । हामीले पटक–पटक भनेका पनि छौँ । उहाँले पटक–पटक कारबाहीको कुरा निकालेर पार्टी नै कमजोर बनाइसक्नुभयो । हामी स्पष्टीकरण बुझाउँदैनौँ ’ उनले भने ।

ठाकुरनिकट एक सांसदले पनि उही दोहोर्याए । यादवले सोधेको स्पष्टीकरणबारे थाहा पाएको तर मन्त्रीहरुले स्पष्टीकरण नबुझाउने ती सांसदले मकालु खबरलाई बताए । ‘स्पष्टीकरणबारे हामी जानकार छौँ । तर, स्पष्टीकरण नबुझाउनेमा हामी पुगेका छौँ । किनकि, उहाँले सोध्नुभएको स्पष्टीकरण खाली पूर्वाग्रहीपूर्ण छ र त्यो सोधिरहनुको कुनै औचित्य पनि छैन ।’ पार्टीमा खासै स्पष्टीकरणबारे छलफलसमेत नभएको ती सांसदको भनाइ छ । भन्छन्— ‘यस विषयमा पार्टीपङ्तिमा कुराकानी पनि भएको छैन । स्पष्टीकरण दिनैपर्छ भन्ने नलागेर नि यसो गरिएको हो ।’

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नदिने भन्ने विषयमा झगडिएका जसपा झन्झन् फुटको सन्निकट पुगेका छन् । कुनै पनि हालतमा जसपा सरकारमा नजाने भन्ने यादवपक्षीय जसपाको अडानविरुद्ध ठाकुरपक्षीय जसपा सरकारमा गएपछि झनै यो विवाद उत्कर्षमा पुगेको छ । गत जेठ २१ गते ठाकुरपक्षीय जसपा ओली नेतृत्वको सरकारमा गएपछि यादवपक्षीय जसपाले सरकारमा सामेल भएका नेताहरुलाई कारबाही हुने बताउँदै आएको छ । नेता मोहम्मद ईस्तियाक राईले मकालु खबरसँग भने- ‘ढिलोचाँडो सरकारमा जानेहरुलाई कारबाही हुन्छ । यो पार्टीले पहिल्र्यदेखि लिएको नीति हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *