कठिन छैन कौसी खेती

सामान्यतया खेती भन्नासाथ खेतबारीको याद आइहाल्छ । तर शहरमा गाउँमा जस्तो खाली जमिन नहुनाले खेती गर्ने कुरा खासै हुँदैन । तर घरको छत कौसी, बार्दलीलगायत खाली ठाउँमै पनि खेती गरेर ताजा तरकारी खान सकिन्छ ।

कौसी खेतीमा कतिपयले त फलफूल खेती पनि गर्ने गरेका छन् । खाली रहेको ठाउँमा पुराना भाँडाकुँडा वा प्लास्टिकका बोरा वा ब्यागमा कौसी खेती गर्न सजिलै सकिन्छ । अहिले त कौसी खेतीलाई सजिलो सहज बनाउने मल बिउ र ‘माटो’ पाइन्छ ।

आफूसँग भएको थोरै ठाउँमा पनि बिरुवाको व्यवस्थापन कसरी गर्ने, के-के प्रविधि प्रयोग गरी बढी उत्पादन लिने भन्ने कुरामा ध्यान दिनुपर्छ । कौसी खेतीबारे जानकारी दिने धेरै ठाउँ छन् । यस्तैमध्येको एक हो- एनटीएस कौसी खेती ।

यो कम्पनीले एनटिएस कौसी खेतीसम्बन्धी विभिन्न तालिम पनि सञ्चालन गर्दै आएको सञ्चालक सरिता कटुवालले बताइन् । कौसी खेती गर्न उनको सल्लाह :-

कौसी खेती गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू 
कौसी खेती घरको छत, बार्दलीजस्ता खाली ठाउँमा गर्न सकिन्छ । त्यसका लागि केही तरिका भने अपनाउनुपर्छ । काठमाडौंमा सामान्य तरिकाले नै कौसी खेती गर्न सकिन्छ ।

अलि धेरै र व्यवस्थित तरिकाले गर्नचाहिँ घरमा र्‍याकहरू बनाएर, थोपा सिँचाई जडान गरेर, गमलामा माटोको सट्टा कम्पोस्ट मल र कोकोपिट राखेर गर्नु राम्रो हो । कोकोपिटमा खेती गर्दा घरलाई भार पनि पर्दैन । माटो भारी हुने भएकाले घरलाई गहौं हुनबाट बचाउन माटोको सट्टामा कोकोपिट प्रयोग गर्न सकिन्छ । यो माटोभन्दा हलुका हुन्छ ।

के-के तरकारी लगाउन सकिन्छ ?
कौसीमा आफूलाई खान मन लागेका तथा लगाउन मन लागेका सबै प्रकारका तरकारी लगाउन सकिन्छ । कुन तरकारी कुन समयमा लगाउँदा उत्पादन बढी दिन सक्छ भन्ने कुराचाहिँ ध्यान दिनुपर्छ । खेती गर्न मन छ, तर कुनै कुराको बारेमा थाहा छैन भने त्यो बारेमा जानकारी लिएर आफ्नो इच्छाअनुसारको कौसी खेती गर्न सकिन्छ ।

यो पनि : हराभरा घर

कुन मौसममा कुन तरकारी लगाउने भन्ने जानकारी नभए त्यसका लागि तरकारीका बिउ पाइने पसल र एग्रोभेटहरुबाट पनि सल्लाह लिन सकिन्छ । र कुन मौसममा कुन विरुवा लगाउँदा राम्रो उत्पादन हुन्छ भन्नेबारेमा जानकारी लिएर पनि लगाउन सकिन्छ । बेमैसमी तरकारी खेती पनि गर्न सकिन्छ । योचाहिँ आफ्नो स्वादमा पनि भर पर्छ ।

पैसा कति लाग्छ ?
कौसी खेती कति गर्ने हो भन्ने कुराले पनि खर्च तय गर्छ । मानिसले १५/२० हजारदेखि एक-डेढ लाखसम्म पनि खर्च गरेर राम्रो र व्यवस्थित कौसी खेती गर्ने ठाउँ बनाउन सकिन्छ । त्यो आफ्नो आवश्यकता र ठाउँअनुसार पनि हुन्छ । र्‍याक बनाउने, थोपा सिंचाई गर्ने, टनेल बनाउने कामका लागि अलि धेरै पैसा लाग्ने गर्छ ।

कोकोपिट, कम्पोस्ट मल ग्रो ब्यागका लागि मात्र धेरै रकम लाग्दैन । कुन तरिकाले खेती गर्ने भन्नेमा पनि भर पर्छ । हामीले घरमै मल पनि उत्पादन गर्न सक्छौं । घरमा नै खेर गएका वस्तुहरुबाट पनि मल बन्छ । शुरुमा एकपटक लगानी भयो भने पछिका वर्षमा त्यति लगानी हुँदैन ।

यसरी कौसी खेती गर्दा ताजा तरकारी खान पाइयो । बिनारसायनिक मल र विषादी प्रयोग नगरिएका अर्गानिक तरकारी खान पाइयो । घरमै बसिरहँदा भन्दा तरकारीबारी तिर जाने सामान्य काम गर्ने गर्दा मुड फ्रेस पनि हुन्छ । शरीरको कसरत पनि हुन्छ । तरकारी किन्ने पैसाको बचत पनि भयो । यसको फाइदै फाइदा छ नि !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *