हराभरा घर

काठमाडौँ । दम्पती नै जागिरे भए भने घर बिस्याहार हुन्छ भन्ने मान्यता हुन्छ धेरैको । तर व्यवस्थापन गर्न जान्ने र अल्छी नगर्ने हो भने दुवै जनाले जागिर खाएर पनि घर हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण हुन् भक्तपुरका विष्णु थापा दम्पती ।

विष्णु र श्रीमती इश्वरी दुवैजना नेपाल प्रहरीमा छन् । तर ‘सत्य सेवा सुरक्षणम्’को मूल मन्त्र पछ्याउँदै निर्वाह गर्ने दायित्वपछिको समय उनीहरुले खेतीलाई दिएका छन् । र घर हराभरा बनाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ मा उनीहरुको घर छ । घर बनाउँदा छोडेको थोरै मात्र जग्गा छ । तर जग्गै छैन के गर्नु ? भनेर उनीहरुले अल्छी गरेनन् । कौसी खेतीतिर आकर्षित भए र यसलाई पनि जागिर सँगसँगै अघि बढाए । अहिले उनीहरुको पौरख पोख्ने ठाउँ बनेको छ कौसी खेती ।

चितवनको भरतपुरमा स्कुल पढ्दैदेखि सुरु भएको उनको व्यावसायिक कृषि कर्म अझै चलेको छ । त्यसबेला फराकिला खेतका गह्रामा गर्ने खेती अहिले घरको छत र कौसीमा पुगेको छ ।

कौसी खेतीको आकर्षण
‘साथी आफन्त वा अरु कसैको घरमा कौसीमा खेती गरेको देख्दा आफ्नो घर बनाएर यसैगरि तरकारी फलाउँछु भन्ने लागिरहन्थ्यो,’ विष्णु भन्छन्, ‘मुख्य लोभ स्वास्थ्यको सँगसँगै पैसा पनि जोगिने हुँदा दोहोरो फाइदा भयो नि ।,’ उनले २०७३ सालमा घर बनाउँदा नै कौसी खेतीका लागि बनाए । घर बनाउँदा बढी भएका ढण्डी, गिट्टी बालुवाबाट घरमाथि तरकारी रोप्ने र त्यसमुनि कुखुरा पाल्न मिल्ने गरेर आधुनिक तरिकाले ठाउँ बनाए । केही समय पहिले उनले कखुरा पनि पालेका थिए तर, पछि धेरै समय दिन पर्ने भएकाले उनले कुखुरा पाल्न बन्द गरे ।

दुई जनाले नै कामबाट बचेको समयमा खेतीलाई निरन्तरता दिएको थापा बताउँछन् । ‘साँझ बिहानको केही समय दिँदा बारीकै तरकारी टिपेर खान पाउनुको आनन्दै बेग्लै हुन्छ नि,’ उनी खुशी हुँदै सुनाउँछन्, ‘स्वादै अर्कै हुन्छ अनि सन्तुष्टि पनि आफैंले फलाएको तरकारी खाँदा ।’

स्वस्थ पनि, स्वादिलो पनि, सस्तो पनि
बजारमा पाइने तरकारीहरुमा बिषादी धेरै राखिने, ताजा नहुने, भाउ पनि महंगो हुने जस्ता समाचारहरु हेर्दाहेर्दा पनि कौसी खेतीमा आकर्षित भएको उनी बताउँछन् ।

सुतेरै वा अल्छी गरेरै बित्ने समय दिने हो भने परिवारका लागि मनग्ये पुग्ने तरकारी र फलफूल फलाउन सकिने उनको अनुभव छ । मानिसहरु बजारबाट बिहान बेलुकै तरकारी लिएर आउँदा आफू कौसी खेतीबाट टिपरै तरकारी पुर्याउने कुरा गर्वको कुरा भएको उनको अनुभव छ । एकाध बाहेक कुनैपनि तरकारी किन्न बजारमा जानु नपर्ने बरु उल्टै छरछिमकी र साथीभाइलाई बाँड्न पनि पुग्ने विष्णुले बताए ।

गाह्रो छैन गर्न
पानी राख्ने ड्रम चुहिन थालेपछि त्यसमा अंगुर फलाइरहेका छन् थापा दम्पतीले । त्यसको साइडमा ड्रागन फ्रुट, कागती लगायत एउटै ड्रममा दुईतिन थरिका फलफूल लगाएको उनले बताए । त्यसैगरि काक्रो, सिमी, रायोको साग, भिण्डी, धनियाँ, बिभिन्न प्रकारका सागलगायत धेरै प्रकारका तरकारी लगाएको सुनाए । अहिलेको सिजनको सागबाट गुन्द्रक बनाइसकेको उनले सुनाए ।

अहिले निषेधाज्ञाका कारण घरमै बस्नुपर्ने अवस्था छ । यो समयमा कौसी खेती गरि तरकारी र फलफूल फलाउन सकिने उनको सुझाव छ । घरमा भएका काम नलाग्ने भाँडाकुँडा, बाल्टिन, माछाका कार्टुनलगायत कौसी खेतीका लागि उपयोगी हुने उनी बताउँछन् । यसको साथै अहिले नर्सरीहरुमा प्लास्टिकका भाँडाबर्तन, बोरा वा प्याकेट कौसी खेतीकै लागि भनेर आइसकेकाले झनै सहज भएको उनी बताउँछन् ।

आफ्नै भान्साबाट निस्केका तरकारीका बोक्रा लगायत गल्ने कुराबाट कम्पोष्ट मल बनाउन सकिने र केही मल किन्दा पुग्ने उनको अनुभव छ । घर छेउको थोरै जमिनमा उनले अनार, स्याउलगायत विरुवा पनि लगाएका छन् ।

कौसी खेती गर्दा चाहीं केही कुरामा भने बिशेष ध्यान दिनुपर्छ । कुन मौसम कुन प्रकारको तरकारी लगाउने, खेती गर्ने सही तरीका थाहा पाउने, रोग कीराबारे थाहा पाउने, स्वस्थ बिउ चिन्नेलगायत कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन् । कौसी खेतीका लागि लगाउने समय र लगाउने विरुवा र कति समयमा उत्पादन गर्न सकिन्छ भन्ने कुरामा बिशेष ध्यान दिनुपर्न उनको भनाई छ ।

सामाजिक सञ्जाल युट्यूव र टेलिभिजनका पनि त्यही किसिममका कार्यक्रमहरु आउने भएकाले अहिले त्यहाँबाट पनि बुझ्न सकिने उनको अनुभव छ । तरकारी मनग्ये हुँदा छरछिमेकीलाई बाँडेर खाने गरेको उनले सुनाए । यसो गर्दा आफूसँग भएको कुरा बाँडेर खाने भन्ने हाम्रो संस्कृति पनि कायमै रहने र अरुलाई पनि कौसी खेती गर्न प्रेरणा पुग्ने भएकाले आफूलाई पुगेर बढी हुने तरकारी बाँडेर खाने गरेको थापा बताउँछन् ।

प्रतिक्रिया

4 thoughts on “हराभरा घर

    1. बिष्णु र इश्वरीकाे मेहनती हातलाई सलाम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *