७१ करोड लागतमा मूर्ति स्थापना गरिँदै, किन महँगो ?

काठमाडौं । तनहुँको व्यास नगरपालिका ३ स्थित मञ्चमन्दिर क्षेत्रमा देवव्यास महर्षिको मूर्ति बनाइने भएको छ । नगरपालिकाकाअनुसार १०८ फिट अग्लो उक्त मूर्ति ७१ करोड २ लाख १० हजार ८ सय ८९ रुपैयाँको लागतमा बन्न लागेको हो । जसका लागि आइतबार (हिजो) नगरपालिका र निर्माण कम्पनी गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जेभीबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार ६ सय ४० बराबरको कामका लागि टेन्टर आह्वान गरिएको र गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जेभी छनोट भएपछि सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देलले मकालु खबरलाई जानकारी दिए । अब क्रमशः काम शुरु हुने उनले बताएका छन् ।

एउटा मूर्तिको लागि लागत धेरै भएन र ? भन्ने प्रश्नमा सिग्देल भन्छन्— ‘मल्टिइयर प्रोजेक्ट हो । फेरि त्यसमा पनि दुईतला माथि लगेर मात्रै मूर्ति राख्ने भन्ने सम्झौता भएको छ । त्यो भएर पनि लागत अलि धेरै पर्न गएको हो ।’

सम्झौतापत्रमा अधिकृत सिग्देल र निर्माण पक्षबाट ऋषिराम अधिकारीले हस्ताक्षर गरेका छन् । सिग्देलकाअनुसार उक्त लागत रकम नगरपालिकाले अवस्था हेरेर र निर्माण सम्पन्न भएपछि मात्रै निकासा गर्नेछ । ‘यो ७१ करोड लागत हामीले एकैपटक दिँदैनौँ । यो लागत चाहिँ निर्माण सम्पन्न हुँदासम्मको हो । हामीले कामको प्रतिशत हेरेर कति प्रतिशत रकम दिने भन्नेबारे छलफल गर्छौँ र रकम निकासा गरिदिन्छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत सिग्देलले लागतमा हिनामिना वा घोटाला नहुनेमा विश्वस्त रहन आग्रह पनि गरे । ‘त्यहाँको पञ्चमन्दिर क्षेत्रको स्वरुप पनि उस्तै छ । त्यहीमाथि दुईतला माथि लगेर १०८ फिटको मूर्ति राख्ने योजनाका कारण अलिक महँगोजस्तो पर्न गएको हो । काममा कुनै हिनामिना नहुनेमा ढुक्क हुन म आग्रह गर्छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *