सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : कार्यान्वयनमा आशंका

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/८९ को नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।

प्रदेश सभामा प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल सुरु भएको हो । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

छलफलमा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम हेर्दा राम्रो देखिएपनि कार्यान्वयन गर्न सम्भव नहुने हो कि भन्नेमा आशंका गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘विगतको अवस्थालाई हेर्दा आगामी वर्षका लागि आएको नीति तथा कार्यक्रम पनि कुनै फरक छैन । आएको चिज बजेटमा देखिनपर्‍यो ।’ उनले नारामात्र उत्कृष्ट दिएर केही नहुने बताए ।

प्रदेशसभा सदस्य गोविन्दराज बोहराले नीति तथा कार्यक्रम विगतकै निरन्तरताबाहेक अरू केही नभएको बताए । विगतमा पनि नीति तथा कार्यक्रममा राम्रो नारा र योजना समेटिए पनि केही काम नभएको बताए ।

सत्तापक्षकै (ओली समूह) सांसद लीलाधर भट्टले नीति तथा कार्यक्रम सुझाव नसमेटिएर रेडिमेड तरिकाले आएको बताए । उनले प्रदेशको आवश्यकताभन्दा मनपरि तरिकाले आएको बताए । ‘औपचारिकता पूरा गर्नकै लागि नीति तथा कार्यक्रम ल्याएको जस्तो देखिएको छ,’ उनले भने ।

छलफलमा भाग लिएका प्रदेश सभा सदस्य रतन थापाले प्रदेश सरकारले धान्न सक्ने कुरामात्र बजेटमा समेट्न सुझाव दिए । नारा ठूला दिएर मात्र नहुने भन्दै उनले कार्यान्वयन पनि जोड दिनुपर्ने बताए ।

प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेशको हितमा महत्त्वपूर्ण नारा दिए पनि कार्यान्वयनको पाटो बलियो बनाउनुपर्ने बताए । प्रदेशसभामा बिहीबार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *