युरोकप भाेलिबाट

युरोपियन नेशन्स कपदेखि युरोकपसम्मको नालिबेली

काठमाडाैँ । युइएफए युरोपियन फुटबल च्याम्पियनशिप तथा युरोकप २०२० शुक्रबार मध्यराती सुरू हुँदै छ । उद्घाटन खेलमा टर्की र इटाली प्रतिष्पर्धा गर्नेछन् । फिफा विश्वकपपछि सर्वाधिक हेरिने प्रतियोगिताको रुपमा रहेकाे ‘युरोकप’ नेपाली समय अनुसार १२ जुन राति १२:४५ बजे प्रतियोगिता सुरु हुने छ ।

यो पटक प्रतियोगिताको फाइनलमा २४ टीम छन् । ४-४ देशको ६ समुह बनाएर प्रतियोगिता खेलाइने छ । प्रतियोगिताको फाइनल ११ जुलाईमा हुने छ । यूरो कप पहिलो पटक १९६० मा आयोजना गरिएको थियो। हरेक ४ वर्षमा हुने प्रतियोगिता २०२० मा कोरोनाका कारण बल्ल हुन लागेको हो ।

युरोकप पहिलो पटक ११ देशका ११ शहरमा प्रतियोगिता हुँदै छ । प्रतियोगिता ६० वर्ष पुगेको अवसरमा युरोपका महत्वपुर्ण ११ शहरमा हुने तय भएको हो । यूईएफएले युरोकप बेलायतको लण्डन, नेदरल्यान्डको आम्स्टरडम, अजरबैजानको बाकु,  स्पेनको सेभिया, रोमानियाको बुचारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन,  स्कटल्यान्डको ग्लासगो, जर्मनीको म्युनिख, इटालिको रोम र रुसको सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।

२०२१ मा भएपनि नाममा २०२०
युरोकप २०२० मा आयोजना हुने तालिका थियो । तर कोरोनाका कारण गत वर्ष प्रतियोगिता भएन । प्रतियोगिता २०२१ मा भएपनि २०२० मै हुनुपर्ने प्रतियोगिता यसबर्षका लागि सरेको मात्र भएकाले प्रतियोगिताको नाममा बर्ष २०२० नै राख्ने निर्णय अघिल्लो वर्ष युइएफएले गरेको छ । प्रतियोगिताको ६० वर्ष २०२० मा पुग्ने भएकाले गर्दापनि २०२० नै नाम राखिएको हो । युइएफएले २०२० मा कोरोनाका कारण फुटबल गुमाएकाहरुको सम्झनाका लागि पनि यसो गरिएको जनाएको हो ।

युरोकपको इतिहास
पहिलो युरोकप १९६० मा आयोजना गरिएको थियो । यद्धपि यो प्रतियोगिताको अवधारणा भने निकै पुरानो हो । १९२७ मा फ्रेन्च फुटबल फेडेरेशनको एडमिनिस्ट्रेटर हेनरी डेलाउनेले युरोपियन फुटबल प्रतियोगिता गर्ने प्रस्ताव राखेका थिए । यसको केहि वर्ष पछि उनलाई युइएफएको पहिलो ‘जनरल सेक्रेटरी’ पनि बनाइएको थियो । यद्धपि उनको यो प्रस्ताव पारित हुन ३१ वर्ष लागेको थियो । १९५८ मा पहिलो पटक प्रतियोगिताको ब्लु प्रिन्ट तयार गरिएको थियो ।

यसको ३ वर्ष अघि अर्थात १९५५ मा डेलाउनेको निधन भएको थियो । तर उनको सम्मानमा युरोकप ट्रफिमा उनको नाम लेखिएको छ । सुरुवातमा यो ट्रफिमा ‘च्याम्पियोनेट डी युरोप’ र ‘कुप हेनरी डेलाउने’ लेखिएको थियो । र पछाडी एक युवाको तस्बीर बनाइएको थियो । यो ट्रफि बनाउने जिम्मेवारी डेलाउनेका छोरालाई दिएको थियो । २००८ मा यो ट्रफिलाई नयाँ डिजाइन गरिएको थियो भने तौल पनि बढाइएको थियो । ट्रफि चाँदीबाट बनाइएको छ । नयाँ ट्रफि ८ किलोको छ। लम्बाइ ६० सेन्टीमिटर छ । जित्ने टिमको नाम पछाडि लेखिने गरेको छ ।

शुरुको नाम युरोपियन नेशन्स कप
१९६० मा शुरु हुँदा प्रतियोगिताको नाम ‘युरोपियन नेशन्स कप’ थियो । १९६८ मा यसको नाम बदलेर युइएफए च्याम्पियनशिप राखियो।  पहिलो संस्करणमा केवल ४ टीमले सहभागिता जनाएका थिए। जसमा चेकोस्लाभाकिया, फ्रान्स, सोभियत युनियन तथा युगोस्लाभिया थिए ।

पहिलो संस्करण सोभियत युनियनले युगोस्लाभियालाई हराएर जितेको थियो । स्पेनले सोभियत युनियनसँग क्वाटरफाइनल खेल्न अस्विकार गर्दा उसालई प्रतियोगिताबाट निकालिएको थियो । जहाँ इंग्ल्यान्ड, वेस्ट जर्मनी तथा इटाली जस्ता टीमलेपनि १९६० को प्रतियोगिता खेल्न अस्विकार गरेका थिए । त्यो समयमा यो प्रतियोगितामा १६ टीमको सहभागिता हुने पनि मुस्कील मानिएको थियो ।

१९७६ सम्म ४-४ टीमको सहभागिता रहँदै आयो। १९८० मा पहिलो पटक ८ टीमले सहभागिता जनाएका थिए । १९९६ मा यसको संख्या बढेर १६ भयो । २०१६ मा सर्वाधिक २४ टीमले प्रतियोगितामा भाग लिए । पछिल्लो समय यो प्रतियोगिताको बढ्दो क्रममा रहेको छ । यो पटक पनि २४ टीमले नै भाग लिंदैछन् ।

यस्तो छ फर्म्याट
युरोकप २ तरिकाले गरिन्छ ।पहिलो क्वालिफायर्स र दोस्रो फाइनल्स । आयोजक बाहेक सबै देशले क्वालिफाइङ प्रतियोगितामा भाग लिने गरेका छन् । आयोजक देशले फाइनल अर्थात युरोकपका लागि स्वत स्थान बनाउने गर्छ । मुख्य प्रतियोगितालाई फाइनल भनिन्छ । फाइनलमा छनोट हुने टीमलाई ४-४ ओटा गरेर ६ समुहमा विभाजन गरेर प्रतियोगिता खेलाइन्छ । फाइनल प्रतियोगितामा हरेक समुहका विजेता र उपविजेताले अन्तिम १६मा स्थान बनाउँदा सबै ग्रुपको तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टीमले पनि अन्तिम १६ मा स्थान बनाउने छन् ।

यूरोकपको इतिहास हाइलाइट्स

  • १९९६ देखी २०१२ सम्म प्रतियोगितामा १६ टिमलाई छनोट गरिन्थ्यो जसबाट ४ टीमको ४ समुह बनाएर खेल खेलाइन्थ्यो । जसबाट क्वाटरफाइनल, सेमीफाइनल तथा फाइनल खेल खेलाइन्थ्यो ।
  • १९८४ देखि १९९२ सम्म ८ टीमले प्रतियोगिता खल्ने यो समयमा ४-४ टीमको समूह बनाएर प्रतियोगिता खेलाइन्थ्यो । दुई समूहका शीर्ष दुई टीम सिंधै फाइनलमा पुग्थे ।
  • १९८० मा पहिलो पटक ८ टीमले प्रतियोगितामा भाग लिएका थिए । यो प्रतियोगितामा सेमिफाइनल खेलाइएको थिएन् । समूहका शीर्ष २ टीमले सिंधै फाइनल खेलेका थिए ।
  • १९६० देखी १८७६ सम्म ४ टीम भएका कारण सिंधै सेमीफाइनल, फाइनल तथा तेस्रो स्थानका लागि खेल हुन्थ्यो ।
  • यद्धपि १९६८ मा ५ खेल भयो । यसको कारण फाइनलमा इटालि र युगोस्लाभियाले ९०+३० मिनेटमा पनि १-१ को बराबरी खेलेपछि पुन अर्को खेल खेलाइएको थियो । तत्कालिन समयमा पेनाल्टीको नियम थिएन । दोस्रो पटकको खेलमा इटालिले २-० ले खेल जितेको थियो ।

जर्मनी र स्पनेको दबदबा
अहिलेसम्म १५ पटक भएको युरोकपमा केवल १० टिमले मात्र उपाधि जितेका छन् । जसमा जर्मनी र स्पेनले समान ३-३ पटक उपाधि जित्दा फ्रान्स २ पटक च्याम्पियन भएको छ । तत्कालिन सोभियत युनियन (रुस), इटालि, चेकोस्लाभाकिया, नेदरल्यान्ड, डेनमार्क, ग्रिस र पोर्चुगलले समान १-१ पटक उपाधि जितेका छन् ।

साविक च्याम्पियन पोर्चुगल यो पटकपनि उपाधिको खोजिमा छ । स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोको देश पोर्चुगल २०१६ मा बलियो प्रतिद्धन्दि फ्रान्सलाई हराउँदै विजयी भएको थियो ।

सेमीफाइनल र फाइनल लन्डनमा
६ समुहका शीर्ष २ टीमले प्रि-क्वाटरफाइनलमा स्थान बनाउने छन्। यसको साथै सबै समुहको तेस्रो स्थानमा रहने शीर्ष ४ टीमपनि अन्तिम १६ मा स्थान बनाउन सफल हुने छन् । अन्तिम ३ खेल (सेमीफाइनल र फाइनल) वेम्बली रंगशालामा खेलाइने छ ।

कुन समूहमा कुन कुन देश

समूह ए- इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी- डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी- नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी- इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई- स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ- हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

प्रतिक्रिया

One thought on “युरोपियन नेशन्स कपदेखि युरोकपसम्मको नालिबेली

  1. कोभिड-१९ को टेनसनको बेलामा खेल जगतले सबैको मन जित्न सफल भएको छ,
    खेल, व्यायाम एक प्रकारको उपचार नै हो नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *