जन्जालमा जसपा

सरकारमा जाने नेतालाई कारबाही होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण एकतामा बाँधिएका तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) पुनः ओलीकै कारण औपचारिकता मात्र बाँकी रहेको फुटको अवस्थामा पुगेका छन् । खासगरी प्रधानमन्त्री ओलीको समर्थन र विरोध के गर्ने भन्ने विषयमा मत नमिल्दा जसपाका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकै भाषामा ‘भेडा भेडासित र बाख्रा बाख्रासित’ भएका छन् । कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले मात्र यी दुई छुटिभिन्न भइनसकेका हुन् ।

जसपाका दुई खेमामा तिक्तता बढ्दो छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएपछि बढेको दूरी प्रदेश नं. २ को सरकारसम्म पुगिसकेको छ । फलस्वरुपः जसपाको उपेन्द्र यादव पक्षले जसपाकै ठाकुर—महतो पक्षका ४ मन्त्रीलाई बर्खास्त गरेको छ । प्रदेश नं. २ मा यादव पक्ष कांग्रेस र माओवादीसमेतको सरकार बनाउने लगभग अन्तिम चरणमा पुगेको छ ।

जसपामा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रम शुरु भइसकेको छ । यादव पक्षले ठाकुर पक्षलाई कारबाही गर्ने बताएको छ । ठाकुर पक्ष सरकारमा जानुभन्दा अगावै जसपा ओली नेतृत्वको सरकारमा नजाने र गए कारबाहीको भागीदार बन्नुपर्ने बताउँदै आएको यादव पक्षले सरकारमा गएकाहरुलाई कारबाहीको तयारी गरेको एक नेताले मकालु खबरलाई जानकारी दिए । उनले भने— ‘महन्थ पक्ष अथवा उपेन्द्र पक्षभन्दा पनि अहिलेलाई सरकारमा जाने जसपा नेतालाई पार्टीले कारबाही गर्छ भनेर बुझ्नुपर्यो । पार्टी निर्णयविपरीत सरकारमा गएका नेताहरुलाई पार्टीले कारबाही गर्छ, त्यो तयारी गरिरहेको छ ।’

अध्यक्ष यादवलाई उद्धृत गर्दै ती नेताले भने— ‘पार्टीले लिएको अडानविपरीत उहाँहरु केपी ओली नेतृत्वको सरकारमा जानुभयो । उहाँहरुलाई पार्टीले ढिलोचाँडो कारबाही गर्नेछ ।’

नेता मोहम्मद ईस्तियाक राईन पार्टीको अडान, नीति नियमविपरीत चल्ने नेतालाई कारबाही हुनैपर्ने बताउँछन् । ‘पार्टीले कारबाही गर्ला ढिलोचाँढो कहिले हुन्छ । पार्टीले भनेको नसुन्ने नेताहरुलाई कारबाही नगरेर कसलाई गर्छ ? सरकारमा जाने केही नेतालाई पार्टीले कारबाही गर्छ,’ नेता राईनले भनेका छन् ।

यता महन्थ पक्ष भने आफूलाई कारबाही गर्न नमिल्ने बताउँछ । युवा तथा खेलकुद मन्त्री बनेका एकवाल मियाँ भन्छन्— ‘व्यक्तिगत रुपमा पार्टीले कारबाही गर्छजस्तो लाग्दैन । किनकी, हामी पहिलो अध्यक्ष महन्थ ठाकुरजीको समर्थनमा सरकारमा आएका हौँ । उहाँले नै हामीलाई सरकारमा ल्याउनुभएको हो । पहिलो अध्यक्षकै समर्थनमा सरकारमा आउँदा कसले कारबाही गर्छ ?’ पार्टीको नीति तथा विधानविपरीत आफूहरु सरकारमा नआएको मन्त्री मियाँको जिकिर छ ।

यस्तै महिला तथा बालबालिका मन्त्री चन्दा चौधरी पनि पार्टीले आफूहरुमाथि कारबाही गर्ने कुनै आधार नभएको बताउँछिन् । ‘के बिरायौँ र पार्टीले कारबाही गर्छ ?,’ उनी प्रतिपश्न गर्छिन् । पार्टीको समर्थनबाटै आफूहरु सरकारमा सामेल भएको बताउँदै मन्त्री चौधरी थप्छिन्— ‘अब त जसपा झनै मजबुत भएको छ । जसपा पनि सरकारमा आएको छ । यो पार्टीकै लागि राम्रो हो । हामी प्रथम अध्यक्ष महन्थ ठाकुरजीकै निर्णयबाट आएका हौँ । पहिलो अध्यक्षले सरकारमा ल्याएको हो अब अरु कसले गर्छ र कारबाही हामीलाई ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *