असईको कमाण्डमा उत्तरी नाकामा खटियो प्रहरी टोली

धनगढी । चिसो बढेपछि मंसिरमा तल झरेको प्रहरी टोली खाद्य सामग्रीसहित हेलिकप्टरमार्फत दार्चुलाको उत्तरी नाका तिंकरमा खटिएको छ ।
जिल्लाको व्यास गाउँपालिका–१ उत्तरी नाका तिंकरमा प्रहरी नायव निरीक्षक (असई) हर्कसिंह महताको नेतृत्वमा १३ जना प्रहरीको टोली तिंकर नाकामा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हिउँदमा हिउँसँगै चिसो बढेपछि स्थानीयसँगै प्रहरी टोली पनि तिंकरको छायालेकबाट तल झरेको थियो ।
हिँडेर तिंकर पुग्दा एक साता लाग्ने भएकाले हेलिकप्टरमार्फत् प्रहरी र खाद्य सामग्रीसहित त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए ।
उनका अनुसार ६ महिनाका लागि पुग्ने खाद्यान्नसहित प्रहरी त्यहाँ पुगेको हो ।
हेलिकप्टरमार्फत् सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयलाई आग्रह गरेको थियो । मंसिर महिनामा छांगरु झरेको नेपाल प्रहरी टोली माथि उक्लिन सकेको थिएन ।
तल गर्मी बढेसँगै स्थानीयबासी गत वैशाखमै तिंकर फर्किसकेका थिए । स्थानीय भने भारतीय बाटो हुँदै करिब एक हप्ता लगाएर त्यहाँ पुग्ने गरका छन् । प्रहरीलाई भारतको बाटो पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टर माग गरिएको थियो ।
३ हजार ८ सय मिटर उचाइमा रहेको छायालेक प्रहरी अब मंसिरमा मात्रै छांगरु झर्नेछ । छायालेकबाट ४ घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायालेक प्रहरीले तिंकर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।
यस्तै सीमा प्रहरी चौकी सीतापुलमा पनि असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको छ । सीतापुलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको हो । सीतापुलका लागि इन्चार्ज र थप ५ जनाको टोली पठाइएको डीएसपी भट्टले बताए ।
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छांगरु र तिंकरमा नेपाल प्रहरीका डिआइजी प्रकाश अधिकारी नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।
भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिएर डिआइजी अधिकारी नेतृत्वको टोली फर्किएको हो ।








