नागरिकता अध्यादेशमाथिको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं । नागरिकता अध्यादेश खारेज गर्न माग गर्दै दायर भएको रिटको बाँकी सुनुवाइ जेठ २७ गते हुने भएको छ । वरिष्ठ अधिवक्ताहरू बोर्णबहादुर कार्की र बालकृष्ण न्यौपानेसहित डम्बरविक्रम कार्की र विजय मिश्रले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएकोमा शुक्रबार नसकिएपछि २७ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले मकालु खबरलाई जानकारी दिए ।
शुक्रबारको सुनुवाइमा वरिष्ठ अधिवक्ताहरू कार्की र न्यौपानेसहित अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायत १५ जना कानुन व्यवसायीले बहस गरेका छन् । सरकारले जारी गरेको नागरिकतासम्बन्धी पछिल्लो अध्यादेश गलत रहेको जिकीर गर्दै दायर भएको रिटमा संवैधानिक इजलासमा सुनुवाइ शुक्रबारबाट शुरु भएको हो ।
रिटमाथि सरकारकातर्फबाट महान्यायाधिवक्ता कार्यालयले कानुनी प्रतिरक्षा गर्नेछ ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरकुमार खतिवडाको इजलास तोकेका छन् । जेठ २७ गते यहि इजलासमा थप सुनुवाइ अघि बढ्नेछ ।








