स्वार्थ बाझिएका न्यायाधिशबाहेकको संवैधानिक इजलास गठन गर्न सर्वोच्चमा रिट

काठमाडौं । अधिवक्त राजाराम घिमिरेले सर्वोच्च अदालतमा स्वार्थ बाझिएका न्यायाधीशहरूबाहेकको संवैधानिक इजलास गठन गर्नका लागि रिट निवेदन दायर गरेका छन् ।
शुक्रबार अधिवक्ता घिमिरेले न्यायाधिशहरु दिपक कुमार कार्की, मीरा खड्का, हरि कृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको स्वार्थ बाझिने देखिएकाले उल्लेखित न्यायाधीशरहितको इजलास गठन गर्न भन्दै रिट दायर गरेका हुन् ।
‘मिति २०७३/०४/१६ गते व्यवस्थापिका संसद संसदीय सुनुवाई विशेष समितिको बैठकका रिट निवेदकहरूमध्ये श्री बालकृष्ण खाँड संसदीय सुनुवाई समितीमा रही हाल संवैधानिक इजलासको रोष्टरमा रहनुभएका माननीय न्यायाधिशहरू दिपककुमार कार्की, मीरा खड्का, हरि कृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ललाई व्यवस्थापिका संसद संसदीय सुनुवाई विशेष समितिको बैठकबाट अनुमोदन गर्नु भएको, वहाँ नै निवेदक भएको अवस्थामा न्याय प्रभावित हुनेमात्र नभई उल्लेखित माननीय न्यायाधिशबाट स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन नसक्ने र एक पक्षीय दृष्टिकोण राख्न सक्ने हुँदा उल्लेखित न्यायाधिशहरू संवैधानिक इजलाशमा बस्न न्यायिक विवेक समेतले नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ रिटमा उल्लेख गरिएको छ ।
रिटमा अधिवक्ता घिमिरेले फैसलामा संलग्नता र मुद्दा हेर्न नमिल्ने कारणसमेत खुलाएर स्वार्थ बाझिएका बाहेकका न्यायाधीशको इजलास गठन गर्न आग्रह गरेका छन् । पछिल्लाे समय संसद विघटन गरेपछि परेकाे रिटमा संवैधानिक इजलास गठनका विषयमा विभिन्न बहसहरू भइरहेका छन् ।








