मन्त्रीपरिषद् आजै विस्तार हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतकाअनुसार साँझ ५ बजेसम्म महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) का केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भइरहेको छ । एक विश्वस्त स्रोतले मकालु खबरलाई भन्यो— ‘साँझ ५ बजे शपथ ग्रहणको तयारी भइरहेको छ । केही जसपा नेताहरुले आजै शपथ लिन सक्नुहुन्छ ।’

सरकारमा जाँदा कुन कुन मन्त्रालय लिएर जाने भन्नेबारे अहिले पार्टी कार्यालय बालकुमारीमा नेताहरुबीच छलफल भइरहेको छ । नेता एकवाल मियाँले मकालु खबरसँग भने— ‘अनौपचारिक बैठक हो । वर्तमान जसपाकेन्द्रित राजनीतिक छलफल भइरहेको छ ।’ नेताहरुले समसामयिक विषयमा छलफल भएको बताएपनि सरकारमा जाँदा कुन मन्त्रालय लिने भन्नेबारे छलफल भइरहेको हो । यसपछि ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । नाम नखुलाउने सर्तमा जसपाका एक नेताले भने— ‘नेता राजेन्द्र महतोलाई उद्योग बाणिज्य तथा आपूर्ति, अनिल झालाई सहरी विकास, शरतसिंह भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिचाईं, विमल श्रीवास्तवलाई खानेपानी र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने लगभग सहमति भएकाे छ ।’

सरकारमा सामेल हुन जसपाले ८ मन्त्रालय र २ राज्यमन्त्रीको प्रस्ताव गरेको थियो । जसमा प्रधानमन्त्री ओलीले सहमति जनाइसकेका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भने— ‘सहमति भइसकेकै हो । उहाँहरु कहिले आउनुहुन्छ थाहा छैन । उहाँहरु आए त आजै पनि शपथ हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले सम्हालेकाे मन्त्रालय जसपालाई दिने तयारी गरिएकाे हाे । ती जसपा नेताले भने— ‘आज केही साथीहरुले शपथ लिनुहोला । त्यसपछि केही साथीहरुले पछि लिनुहोला ।’ यद्यपि अध्यक्ष ठाकुरले भने जसपा विवाद निर्वाचन आयोगसम्म पुगेकाले अहिल्यै सरकारमा नजाने कि भन्नेबारेमा पनि परामर्श गरेका छन् । ‘अहिल्यै नजाने कि भन्नेबारे नि छलफल भएको थियो । तर, अब सरकारमा जाने कुरा धेरै अघि बढिसक्याे’ ती नेताले भने।

यता संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा)ले भने ओली नेतृत्वको सरकारमा सामेल नहुन पार्टी पङ्तिलाई चेतवनी दिँदै  आएको छ । ओली नेतृत्वको सरकारमा जसपा सामेल नहुने र कोही नेताहरु सरकारमा गए पार्टीले कारबाही गर्ने चेतावनी दिइरहेको छ । नेतृ रेनुकुमारी यादवले मकालु खबरसँग भनिन्— ‘जसपा सरकारमा कसरी जान्छ र ? हामीले त नजाने नै भनेका छौँ नि । कोही गयो भने त पार्टीले  कारबाही गर्छ ।’

करिब १३ महिनाअगाडि हतार—हतार एकतामा बाँधिएका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) फुटको सन्निकट पुगेका छन् । ठाकुर—महतोपक्षीय जसपा सरकारमा सामेल भयो भने जसपा विधिवत् रुपमै फुट्ने सम्भावना बलियो बन्नेछ ।

सर्वोच्च अदालतले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरुलाई गैह्रसांसद पटक—पटक मन्त्री बन्न नमिल्ने बताउँदै शपथ खारेज गरिदिएपछि अहिले ८ मन्त्रालय खाली छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *