कालो ढुसीको संक्रमण नयाँ होइन, तर प्राण लिन सक्छ : डा. कमर

धनगढी । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण कम नभइसकेको अवस्थामा कालो ढुसी (क्युकर माइकोसिस)को संक्रमणबाट बिरामीको मृत्यु भएपछि अर्को त्रास थपिएको छ । यसलाई ‘ब्ल्याक फंगस’ पनि भनिन्छ । जुन रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा सर्ने ढुसी हो ।

सेती प्रादेशिक अस्पतालमा देखिएका कालो ढुसी संक्रमित एकमात्रै बिरामीको बिहीबार बिहान मृत्यु भएपछि यो रोगप्रति चासो र चिन्तामात्रै होइन‚ त्रास पनि बढेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट निको भइसकेका वा उपचारमा रहेका बिरामीमा कालो ढुसीको संक्रमण देखिन थालेको अवस्थामा नेपालमा पनि यो रोग देखिन थालेको हो । देशभर दर्जन बढी संख्यामा संक्रमित देखिए पनि बिहीबार पहिलो पटक धनगढीको सेती प्रादेशिक अस्पतलामा उपचाररत कैलालीको बर्दगोरियाका एक ६५ वर्षीय पुरुषको मृत्यु भयो । जसले त्रास बढेको हो । तर, चिकित्सकका अनुसार कालो ढुसीको संक्रमण नयाँ भने होइन ।

यो पनि : कालो ढुसी रोगका कारण धनगढीमा एकजनाको मृत्यु

उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार बिहीबार अस्पतालमा मृत्यु भएका पुरुष मिर्गौला, मधुमेह र मुटु रोगबाट ग्रसित थिए । यद्यपि उनलाई कोरोना संक्रमण थिएन । यसको अर्थ रोग प्रतिरोधात्मक क्षमता कम हुने मानिसलाई कालो ढुसी संक्रमणको जोखिम बढी हुने डाक्टर कमर बताउँछन् । कोरोना संक्रमित, संक्रमणबाट निको भएका व्यक्तिहरु, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कालो ढुसी संक्रमणको बढी जोखिम रहेको उनको भनाइ छ ।

No description available.
                  डा. शेरबहादुर कमर

‘अहिले कोरोना संक्रमणका कारण मानिसहरुको रोगसँग लड्ने क्षमता कम भएका बेला यसको संक्रमण बढी देखिने सम्भावना हुन्छ, अहिले भएको पनि त्यही हो,’ डा. कमर भन्छन्, ‘यो नयाँ रोग होइन । कोरोना संक्रमितमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरुलाई यसको संक्रमण देखिएमा बिरामीलाई थप जोखिम भने हुन्छ ।’

कालो ढुसी वातावरणमा प्राकृतिक रुपमै पाइने भएकाले यो मानिसबाट सर्छ भन्ने नहुने डा. कमर बताउँछन् । यो त्यस्तो सरुवा रोग भने होइन । ‘जुन मानिससँग रोगसँग लड्ने क्षमता हुँदैन‚ उसलाई प्राकृतिक रुपमै पनि जहाँबाट पनि कालो ढुसीको संक्रमण हुन सक्छ । यो अहिले मानिसमा रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा बढी देखिएको मात्रै हो । कमजोर मानिसलाई यो रोगको संक्रमण हुने जोखिम जहिले पनि रहन्छ । हामी खुला राख्ने खानामा पनि कालो ढुसी रहेको हुनसक्छ ।’ कालो ढुसीको संक्रमण भएको थाहा भएमा समयमै उपचार हुन नसके यो प्राणघातक पनि हुन्छ ।

कस्ता हुन्छन् लक्षण ?
कमजोर मानिसको शरीरका जुनसुकै अंगमा पनि कालो ढुसीको संक्रमण हुनसक्छ । अहिले विशेष गरेर भारतमा देखिएका बिरामीमा नाक रातो हुने, नाक, ओठको छाला कालो हुने, आँखा पोल्नेलगायतका समस्याहरू देखा परेका छन् । डा. कमरका अनुसार यतिमात्रै नभई जुन अंगमा कालो ढुसीको संक्रमण भयो‚ सोहीअनुसार यसका लक्षण पनि फरक हुन्छन् ।

उनी भन्छन्, ‘मस्तिष्कमा संक्रमण पुगेमा टाउको दुख्ने, वान्ता हुने, छालामा भएमा कालो दाग देखिने, नाकमा भएमा नाकबाट बाक्लो सिँगान आउने, रगतजस्तो तरल पदार्थ आउनेजस्ता लक्षणहरू देखा पर्छन् ।’

उनका अनुसार कालो ढुसीले शरीरको जुनसुकै अंगमा पनि असर गर्न सक्छ । यो प्रायः आँखा, फोक्सो, किड्नी तथा छालामा देखिने गरेको उनी बताउँछन् । छालामा यसको संक्रमण भएमा कालो दाग देखिने हुन्छ, जुन दुख्छ ।

औषधि पाउनै कठिन
डा. कमरका अनुसार बिहीबार धनगढीमा मृत्यु भएका बिरामीमा कालो ढुसीको संक्रमण पुष्टि भएपछि ‘एम्फोटेरिसेन बी’ नामक औषधि चलाइएको थियो । यो रोग यसअघि कमैमात्र देखिने दुर्लभ रोग हो ।

यो रोगको औषधि पनि खासै पाइँदैन । ‘कालो ढुसीको संक्रमण भएर समयमै ध्यान दिन सकिएन भने अन्तिममा औषधि नपाएर पनि बिरामीको मृत्यु हुने अवस्था पनि आउन सक्छ,’ डा. कमर भन्छन्, ‘किनभने यो रोगको औषधि खासै पाइँदैन ।’ उनका अनुसार यहाँ पनि यो औषधि अभाव छ । उनी भन्छन्, ‘यदि यसको संक्रमण फैलिँदै गएमा सरकारले केही रणनीति बनाउला ।’ कालो ढुसीको संक्रमण फैलिन गएमा सरकारले पनि केही प्रोटोकल बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

रोगबाट बच्न के गर्ने ?
अहिले कोरोना संक्रमण फैलिरहेका बेला कालो ढुसीको पनि संक्रमण देखिन थालेपछि मानिसले आफ्नो स्वास्थ्यप्रति थप सजगता अपनाउनुपर्ने देखिएको छ ।

यो रोगबाट बच्नका लागि आफ्नो रोगप्रतिरोधी क्षमतालाई घट्न नदिनु नै सबैभन्दा उत्तम विकल्प भएको डा. कमरको सुझाव छ । सरसफाईमा ध्यान दिँदै रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने कुरामा मात्रै ध्यान दिन सकियो भने यो बेला कोरोना र कालो ढुसी दुवै रोगबाट बच्न सकिन्छ ।

कोरोना भाइरस संक्रमित र निको भइसकेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्छ । किनभने उनीहरुमा रोगप्रतिरोधी क्षमता कम हुन्छ । विशेष गरेर चिकित्सकको अनुमतिबिना ‘स्टोरोइड’को प्रयोग गर्न नहुने उनको सुझाव छ ।

थप पढ्नुस् : नेपालमा १० जनामा भेटियो ‘कालो ढुसी’, कसरी चिन्ने, कसरी बच्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *