संसद् विघटन

विपक्षी गठबन्धनको बैठक जारी, सरकारविरुद्ध रणनीति बन्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी छ । बैठकमा सभापति देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसाप)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोचाकी नेतृ दुर्गा पौडेललगायतका नेताहरुको सहभागिता छ ।

एक कांग्रेस नेताले मकालु खबरलाई बताएअनुसार नेताहरुबीच बिहान ९ बजेदेखि नै छलफल जारी छ । ती नेताकाअनुसार बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारकाविरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्नेबारे शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । ती नेताले भने— ‘उहाँहरुबीच समसामयिक राष्ट्रिय राजनीतिको बारेमा छलफल भयो । सर्वोच्चमा सुनुवाइ भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धको रिटलगायतका विषयमा छलफल भइरहेको हो ।’

प्रतिनिधि सभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेका हुन । राजनीतिक रुपमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारविरुद्ध विपक्षी मोर्चा बनाउने निर्णय गरिसकेका विपक्षी दलहरुले अब स्थानीय तहसम्मकै राजनीतिक प्रतिरोधको कार्यक्रमको थालनी गर्ने बुझिएको छ ।

न्यायिक रुपमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि विपक्षी गठबन्धनका १४९ सांसदहरुले हस्ताक्षर गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै सरकारको सिफारिसमा गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटउपर शुक्रवारदेखि सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *