हिमपात र झरी आइतबारबाट मात्र कम हुँदै जाने

काठमाडौं । केही दिनदेखिकाे झरी र हिमपात आइतबारबाट मात्र सुधार हुँदै जाने भएकाे छ । केही दिनदेखि भइरहेकाे माैसमकाे बदली, वर्षा र हिमपात आइतबारदेखि केहि स्थानमा हट्दै जाने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा चक्रवात बिकास भएका कारणले दुई तीन दिन अघिदेखि देशभर बदलीभई वर्षा भइरहेको महाशाखाका माैसमबिद वरुण पौडेलले मकालु खबरलाई जानकारी दिए ।
गत मंगलबार दिउँसोबाट बदली हुन शुरु गरेको र बुधबारदेखि लगभग देशभरी नै बर्षा भइरहेको महाशाखाले जनाएको छ । यो बंगालको खाडीमा आएको चक्रबातले अप्रत्यक्षरुपमा असर गरेर नेपालमा वर्षा भइरहेको मौसमविद् पौडेलले बताए ।
यसकै प्रभावले विशेषगरी उच्च हिमाली भेगमा अहिले हिमपात भइरहेको र पहाडी तथा तराई भेगमा वर्षा भइरहेको छ । यो क्रम भोलि पनि जारी रहने र आइतबारबाट विस्तारै सुधार भएर जाने मौषमविद् पाैडेलले जानकारी दिए ।
आइतबार पनि केहि ठाउँमा भने पानी पर्ने उनले बताए। आइतबार लुम्बिनी, बागमती प्रेदेशका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको उनले बताए । ‘आइतबार राति प्रदेश १ र २ मा पानी पर्ने देखिएको तर अब यो विस्तारै कम हुदै जानेछ, आजभोलीभन्दा आइतबारबाट मोैसम धेरै नै सुधार भएर जानेछ‚’ उनले भने ।









