आदर्शले रुँदै भने – अस्पताल र स्वास्थ्यकर्मीको हेलचक्र्याइँले बुबा गुमाएँ

काठमाडौं । आदर्श मिश्रा हाँस्य कलाकारका रुपमा चिनिँदै गएका कलाकार हुन् । ‘स्ट्यान्ड अप कमेडी’ मा राम्रो उपस्थिती जनाउँदै गएका उनले आफ्नो युट्युब च्यानलमा बुधबार भक्कानिँदै आफ्नो जिन्दगीकै दुःखदमध्येको एक भिडियो पोस्ट गरेका छन् ।

उनका बुबाको मंगलबार मृत्यु भयो । आफ्ना बुबाको निधनको खबरले सन्तानलाई यसै पनि दुःखी बनाउने नै भयो । त्यो मृत्यु सामान्य नभएर अस्पताल र स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको उनको दाबी छ । लामो समयदेखि मिर्गौलाका बिरामी रहेका उनका बुबा बिनोद मिश्राको, मंगलबार उपचारका क्रममा नारायणी क्षेत्रीय अस्पताल चितवनमा निधन भएको हो ।

बुबाको काजक्रियाकै क्रममा रहेका आदर्शले आफ्ना बुबाको उपचारमा नेसनल मेडिकल कलेज र नारायणी क्षेत्रीय अस्पतालले गरेको चरम लापरबाहीको विषयमा बोलेका छन् ।

२ हप्ताअघि नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा डायलासिसका लागि लगेका आफ्ना बुबालाई नारायणी अस्पतालमा पठाइएको र नारायणी क्षेत्रीय अस्पतालमा डायलासिसका क्रममा हेलचक्र्याइँ गरिएकोमा उनले आपत्ति जनाएका छन् । नेसनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमा उपचार गर्न नसकिने भन्दै अन्तिम समयमा नारायणी अस्पताल चितवन पठाइएको तर अस्पतालले ‘एनएमसीले नगरेको डायलासिस हामीले किन गर्ने’ भन्ने खालको प्रतिशोध लिएको उनको गुनासो छ ।

अस्पतालकी नर्स दिदीले दुवै मेसिन बिग्रिएको भन्नुभयो तर एउटामात्र मेसिन बिग्रेको उनको भनाइ छ । त्यसपछि डाक्टरले बुबाको दिमागमै सुगर पुगेको र सुगर २६० पुगिसकेको बताएर चार घण्टाका लागि डायलासिस गर्न शुरु गरेकोमा त्यसपछि नर्सले एक घण्टा समय घटाएर तीन घण्टामात्र डायलासिस गरेको उनले बताएका छन् । ती नर्सलाई दिदी सम्बोधन गर्दै आदर्शले भनेका छन्‚ ‘दिदी ! तपाईंलाई घर जाने हतारो थियो होला‚ तपाईं १ घण्टा छिटो घर पुग्नुभयो होला तर कोही घरै पुग्न पाएनन्, तपाईंलाई धन्यवाद छ ।’

डायलासिस गर्ने मेसिनमा ४ घण्टाको समय सेट गरे पनि डाक्टर गएपछि एक घण्टा समय घटाइदिएको उनले बताएका छन् ।

त्यसपछि बुबालाई १०५ डिग्री ज्वरो आएकाले आईसीयूमा राख्न पटकपटक आग्रह गर्दा पनि डाक्टरले आइसीयूमा राख्न नपर्ने बताएको आदर्शले भिडिओमा भनेका छन् । अक्सिजन लेभल सामान्य अवस्थामै रहेकाले आईसीयूमा राख्न नपर्ने बताएको र अन्ततः बिहान १० बजे आफ्ना बुबाले प्राण त्यागेको उनले बताए ।

अघिल्लोपटकको लकडाउनका बेला नारायणी अस्पताललाई कोभिड अस्पताल बनाएपछि त्यहाँबाट नेसनल मेडिकल कलेजमा पठाइएकामध्ये पाँच जना, मिर्गौलाका बिरामीको ज्यान गएको आदर्शले बताएका छन् । त्यो डायलासिस गराउने उपकरण डायलुजर नफेरेकाले त्यस्तो भएको उनको भनाइ छ ।

चार वर्षसम्म एकै अस्पतालमा डायलासिस गराइरहेकोमा अहिले पैसाको लागि त्यो अस्पतालले बेवास्ता गरेको उनले बताएका छन् ।

नेसनल मेडिकल कलेजमा डायलासिसका लागि भारतको नेफ्रो प्लस भन्ने कम्पनीले जिम्मा लिएको र नाफा धेरे कमाउन धेरै नै हेलचक्र्याइँ गर्ने गरेको आदर्शको दाबी छ । उनले त्यहाँ डायलासिसको मेसिनहरू गुणस्तरीय पनि नभएको दाबी गरेका छन् । यस्तै फेरिरहनुपर्ने डायलुजर नफेरेर एउटै डायलुजरले १०-१२ पटकसम्म डायलासिस गराइएको उनले दाबी गरेका छन् ।

तर अस्पताल सञ्चालकको प्रधानमन्त्रीसम्म पहुँच भएकाले उनीबारे कतै कसैले छानबिन नगर्ने उनको गुनासो छ ।

बुबाको मृत्युपछि उनले आमालाई ढाँटेकोमा पनि आफैँसँग गुनासो गरेका छन् । ‘आमा डिप्रेसनको औषधि खाइरहेको व्यक्ति हुनाले यसअघि पनि पटकपटक ढाँटेको र बुबाको मृत्यु भएको खबर सुनाउँदा उहाँलाई झनै गाह्रो होला भनेर नारायणी अस्पतालमा उपचार भइरहेको छ ।’ भनेको उनले बताएका छन् ।

बुबाको शव प्याक गरिसकेर पनि आमालाई ढाँटेर उपचारका लागि अस्पताल लैजाँदैछु भनेर आर्यघाटo पुर्‍याउनुपरेको उनले बताएका छन् ।

यसअघि मिर्गौला प्रत्यारोपणको झन्झटिलो र अव्यवहारिक कानुन र प्रक्रियाका बारेमा प्रत्यारोपणका लागि मिर्गौला दिने व्यक्ति हुँदा पनि झन्झटिलो प्रक्रियाका कारण नसकेको भन्दै उनले गुनासो गर्दै आएका थिए ।

सम्बन्धित समाचार

सरकारले मिर्गौला प्रत्यारोपणको अनुमति नदिँदा आदर्श मिश्राका बुबाको निधन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *