सरकारले मिर्गौला प्रत्यारोपणको अनुमति नदिँदा आदर्श मिश्राका बुबाको निधन

जनकपुरधाम । करिब चार वर्षदेखि मिर्गौलाका बिरामी कमेडियन आदर्श मिश्राको बुबा बिनोद मिश्राको निधन भएको छ । हाँस्यकलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनको‍ मृत्यु भएको दिउँसो २ बजेतिर सार्वजनिक गरेका हुन् ।

सोमबार मध्यराति २ बजेतिर आदर्शले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरे, ‘मेरो बुवाको मिर्गौला प्रत्यारोपण गर्नुपर्नेछ, तर नेपाल सरकारले यसको लागि अनुमति दिइरहेको छैन । यसको एउटै कारण हो, कारण मिर्गौलादाता मेरो ठुलीआमा (आमाकी दिदी) भारतीय नागरिक हुन् । त्यही भएर म नेपाल सरकारविरुद्ध मुद्दा दिन चाहन्छु ।’ आदर्शले उक्त ट्वीटमा प्रदेश २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झालाई मेन्सन गर्दै सहयोग मागेका छन् ।

त्यसको ७ घण्टापछि मंगलबार बिहान ९ बजेतिर आदर्शले अर्को ट्वीट गरे, ‘म मेरो बुबा गुमाउन चाहन्नँ ।’ तर त्यसको केही घण्टा नबित्दै हाँस्य कलाकार गजुरेलले आदर्शको बुवाको बिनोद मिश्राको निधन भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिए ।

उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । नारायणी अस्पताल विरगंजमा नियमित डायलासिस हुँदै आएको उनलाई सोमबार राति थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । ४ वर्षदेखि मिर्गौलाका बिरामी मिश्राको डायलासिस हुँदै आएको थियो ।

आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् । बारा जितपुरका बिनोदको चार वर्ष अघिदेखि दुवै मिर्गौलाले बिग्रेका कारण नारायणी अस्पताल विरगंजमा हप्तामा दुईचोट डायलासिस भइरहेको थियो । लकडाउनमा उनले समयमा नियमित डायलासिस गराउन नपाएको आदर्शका साथी सोनु जायसवालले बताए ।

आफ्नो बुबाको समस्याबारे आदर्शले पटक–पटक सामाजिक सञ्जालमार्फत् आवाज उठाइरहेका थिए । बुबाले डायलासिस सेवा नपाएको समस्याबारे गतवर्ष उनले भिडियोसमेत अपलोड पनि गरेका थिए ।

त्यतिबेला उनले बुबालाई डायलासिसका लागि नेसनल मेडिकल कलेज लगेका थिए । तर, पीसीआर परीक्षणको रिपोर्टका कारण डायलासिस रोकिएपछि उनले जसोतसो सोर्सफोर्स लगाएर नारायणी अस्पतालमा बुबाको डायलासिस गराएका थिए ।


सोनुले मकालु खबरसँग भने, ‘नियमित डायलासिस गराइरहेका उनीहरू अन्ततः मिर्गौला नै फेर्ने उपायमा लागे । जसका लागि मिर्गौलादाता पनि भेटियो । तर मिर्गौलादाता आदर्शकी ठूली आमा भारतीय नागरिक भएका कारण नेपालको व्यवस्थाले मिर्गौला दिन रोक्यो ।’

यही विषयमा आक्रोशित हुदैँ आदर्शले सरकारविरुद्ध मुद्दा दिनेसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *